
बिहिवार , आषाढ २१, २०८०
भैरहवा, २१ असार ।
रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रधानाध्यापक र विद्यालय सहायक कर्मचारी (लेखापाल) का लागि सञ्चालित ६ दिने तालिम सम्पन्न भएको छ । तालिम असार १५ देखि २० गतेसम्म रोहिणी–३ स्थित धकधई स्रोत केन्द्रमा सञ्चालन भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले बताए ।
प्रधानाध्यापकलाई कामप्रति जवाफदेही बनाउने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिप्रेरित गर्ने र कर्मचारीको कामलाई अझ प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेले बताए । ४२ जनाको सहभागीता रहेको तालिममा सार्वजनिक खरीद, सकारात्मक सोच, विद्यालय लेखांकन, सम्पूर्ण गुणस्तर व्यवस्थापन, प्रधानाध्यापकको जवाफदेहीतालगायत विषयमा प्रशिक्षण गरिएको उनले जानकारी दिए ।
तालिममा सार्वजनिक खरीद तथा विद्यालय लेखांकनसम्बन्धी रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, लेखापाल प्रकाश पछाई, सम्पूर्ण गुणस्तर व्यवस्थापन र सकारात्मक सोचसम्बन्धी गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरे र प्रधानाध्यापकको जवाफदेहीतासम्बन्धी विषयमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्राचार्य घनश्याम पाठकले सहजीकरण गरेका थिए ।
तालिमका प्रशिक्षक तथा कालिका मानवज्ञान माविका पूर्व प्राचार्य घनश्याम पाठकले २१ औं शताब्दीको शिक्षकले आफूलाई समयअनुसार निर्माण गर्न नसके पृथ्वीको बोझ जस्तै बन्ने बताए । उनले शिक्षकहरु आफूलाई २१ औं शताब्दीअनुसार उभ्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी २१ औं शताब्दीहरु आफूलाई उभ्याउन सकेनौ भने हाम्रो अगाडि जाने बाटो अवरुद्ध हुन्छ ।’ पाठकले आफ्नो पेशागत धर्म पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो पेशाको धर्म निर्वाह गरिएन भने पूजा गरेर मात्र नहुने बताए । रोहिणी गाउँपालिकाले शिक्षा क्षेत्रलाई जोड दिनु सराहनीय कार्य भएको उनको भनाइ छ ।
पिपरहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खाँले सिकेका कुराहरु व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा पनि गाउँपालिकाले यस्ता तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधु प्रसाद घिमिरेले शिक्षामा प्रतिफल आवश्यक छ भन्ने उद्देश्य बोकेर गाउँपालिका अघि बढेको बताए । उनले शिक्षक आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनैपर्ने बताए ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले बालबालिका देशको कर्णधार भएको र बालबालिकाको भविष्य उज्जवल बनाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई जोड दिएको र शिक्षा शाखा लागिपरेको बताइन् ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी गाउँपालिका शिक्षाको विकासका निम्ति लागिपरेको बताए । उनले भने, ‘शिक्षालाई प्राथमिकता दिएका छौं, शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न लागिपरेका छौं । विद्यालयको समयसमयमा अनुगमन गर्दै आएका छौं । ’ अध्यक्ष यादवले सकारात्मक सोचकासाथ अघि बढ्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij