२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

गायक सपुतलाई आदर्श सम्मान र थकालीलाई सिर्जनशील पत्रकारिता पुरस्कार

शुक्रवार , माघ २, २०७७

बागलुङ, २ माघ ।

यसवर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको हो। 

सहकारीको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । सपुतलाई नगद रु. २५ हजार राशीसहित निर्वतमान संघीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले कदर पत्र प्रदान गरेका छन् ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए । गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’ लगायतका गीत लोकप्रिय छन् भने  सपुतले हालै एक चलचित्रमा समेत डेब्यु गरेका छन् ।
आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय

सहकारी महासंघका पूर्व सञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष समेत रहेका थकाली अन्नपूर्ण पोष्ट, एपीवान टेलिभिजन तथा समाधान दैनिकमा कार्यरत रहेका छन् । साथै धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ती (बागलुङ)लाई प्रदान गरिएको थियो ।

आदर्श सञ्चारका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो । समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम रु ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । अहिले उक्त कोषको रकम रु एक लाख पु¥याइएको छ । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ ।