२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भूकम्प सुरक्षा दिवसको अवसरमा नमूना अभ्यास तथा प्रवचन कार्यक्रम

शुक्रवार , माघ २, २०७७

भैरहवा, २ माघ । 
‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस रुपन्देहीमा पनि मनाइएको छ । दिवसको अवसरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति, रुपन्देहीको आयोजना,  विकास तथा प्रकोप व्यवस्थापन व्यवस्थापन केन्द्र, रुपन्देहीको सहयोग, नमुना एकीकृत विकास परिषद, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको समन्वयमा नमूना अभ्यास तथा प्रवचन कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी नेपाल बल नेपाल, नं. २७ गण, हे.क्वा. रुपन्देहीले भूकम्पसम्बन्धि नमूना अभ्यास गरेको छ । भूकम्प आउँदा अपनाउनेपर्ने सावधानीसहित सशस्त्र प्रहरीले भैरहवास्थित आवारोडमा जनचेतनामूलक कार्यक्रम गरेको हो ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर डा. प्रवीण प्रताप अधिकारीले भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

received_324370092117183.jpegकार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले १९९० र २०७२ सालमा गएको भुकम्पले ठूलो जनधनको क्षति गरेको बताए । उनले विपद् व्यवस्थापनसम्बन्धि भए/गरेका कार्यहरु लिलिपद्ध गरेर भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने कुरा पनि उठेको बताए । विपद् व्यवस्थापनसम्बन्धि अभिलेखीकरण गर्नुपर्ने आवश्यकता रहेको प्रजिअ घिमिरेको भनाइ छ ।

त्यस्तै नमुना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले पूर्व तयारीमा लगानी गरे विपद्मा मानवीय र आर्थिक क्षति न्यूनीकरण गर्न सकिने बताइन् । उनले नमुनाले युनिसेफसंगको सहकार्यमा विपद् व्यवस्थापनसम्बन्धि विभिन्न कार्यहरु गर्दै आएको बताए । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नमुना एकीकृत विकास परिषदले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई खोज उद्दार तथा प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरेको थियो ।

१९९० सालको महाभूकम्पमा पुगेको क्षतिको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।