२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर–२ का स्थानीयको प्रश्न : बस्तीनजिकै नदीकिनारमा नगरपालिकाले कहिलेसम्म फोहोर थुपार्ने ?

सोमवार , आषाढ २५, २०८०

भैरहवा, २५ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का स्थानीयबासीले बस्तीनजिकै नदी किनारमा फोहोर फाल्दा थुर्पादा वातावरणीय प्रदूषण बढेको बताएका छन् । उनीहरुले पानीको स्रोत र बस्ती नजिकै नगरभरीको फोहोर थुपार्ने गर्दा बस्ती र वातावरण प्रदूषण भएको भन्दै स्थायी समाधान खोज्न सिद्धार्थनगर नगरपालिका पुगेर ध्यानाकर्षण गराएका छन् । उनीहरुले नगरप्रमुख इश्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारीसँग आइतबार भेटेर ध्यानाकर्षण गराएका हुन् । 

सिद्धार्थनगर–२ का स्थानीय प्रशान्तममणि रामदामले बस्तीनजिकै नदी किनारमा नगरपालिकाले कहिलेसम्म फोहोर थुपार्ने भन्दै प्रश्न गरे । नगरपालिकाले डण्डा नदी किनारमा वस्ती नजिकै फोहोर फाल्दा रोगको जोखिम बढेको बताए । उनले वस्ती नजिकै केही व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएको बताए ।

‘वस्ती नजिकै नगरभरीकै फोहोर थुपारिने गरेको छ । बस्न र खान पनि हामीलाई ग्राहो भइसक्यो । उनले भने, ‘फोहोर दुर्गन्धले प्रदुषण बढेको छ । ’ व्यवस्थित रूपमा फोहोरको व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकालाई यसअघि पटकपटक ध्यानाकर्षण गर्दै आए पनि नगरपालिकाले ध्यान नदिएको उनको आरोप छ । 

उनले नगरपालिकाले ध्यान नदिए अब आन्दोलनमा उत्रिन बाध्य हुने बताए । उनले फोहोर समेत फाल्न नदिने र अदालतको ढोका ढकढकाउने बताए । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष दीपक कुमार थापाले नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि स्थायी समाधान खोज्नुपर्ने बताए । उनले फोहोरको दुर्गन्धका कारण सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा क्याम्पस, झण्डी बजार र मेउडिहवा वरपरलगायत स्थानका नागरिक अत्यन्तै मर्कामा परेको गुनासो गरे । उनले नगरपालिकाले डम्पिङ साइटको बनाएर नगरबाट संकलन गरिएको फोहोर व्यवस्थापन गर्नुपर्ने माग गरे ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले फोहोरमैला व्यवस्थापनका लागि अन्य पालिकाहरुसँग समन्वय भइरहेको र समाधानका निम्ति लागिपरेको नगरप्रमुखबाट आश्वासन आएको बताए । वडाअध्यक्ष श्रीवास्तवले भने, ‘नगरप्रमुखज्यूले हामीसँग जतिसक्दो छिटो समस्या समाधानका निम्ति लागिपरेको बताउनुभएको छ ।  ’

सिद्धार्थनगरमा संकलित फोहोर सिद्धार्थनगर–२ स्थित मेउडिहवा नजिकै डण्डाखोलामा फोहोर थुपार्ने गरिएको छ । फोहोर फाल्दै आएको स्थानको नजिकै पक्लिहवा कृषि क्याम्पस र सशस्त्र प्रहरी बल २७ नम्बर गण पनि रहेको छ ।