२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

डा. प्रविन खत्रीलाई सम्मान तथा बिदाइ

आइतवार , माघ ४, २०७७

भैरहवा, ४ माघ । 
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा कार्यरत कन्सल्टेन्ट फिजिशियन एशोसिएट प्रोफेसर डा. प्रविन खत्रीलाई भैरहवामा सम्मान तथा बिदाइ गरिएको छ । विगत १० वर्षदेखि भैरहवामा रहेर स्वास्थ्य क्षेत्रमा लागेका डा. खत्रीलाई सम्मान तथा बिदाइ गरिएको हो । उनलाई भैरहवामा शनिबार आयोजित कार्यक्रममा विभिन्न संघ–संस्थाले सम्मान तथा बिदाइ गरेको कार्यक्रम संयोजक सुरज उपाध्यायले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले राजनीतिमा राम्रो मान्छे नआएसम्म मुलुकको अवस्था सुध्रिन नसक्ने बताए । उनले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्ने निर्णयको विरोध गर्दै आन्दोलनमा सहभागि हुँदा आफु कोरोना संक्रमित भएको र त्योसंगै निमोनियाबाट समेत ग्रसित भएको बताए । ‘कोरोना संक्रमित भइसकेपछि म युसीएमएसमा भर्ना भए, त्यहाँ मलाई डा. प्रविन खत्रीले एकदमै सहयोग गर्नुभयो, ५–६ दिनमा मलाई निको बनाएर घर पठाउनुभयो, उहाँको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छ, ’रज्जाकले भने ।
रुपन्देही  जिल्ला तथा लुम्बिनी प्रदेशवासीले डा. खत्रीको योगदान सदैव स्मरण गर्ने उनको भनाइ थियो । विरामीको उपचार गर्ने र मृत्युबाट समेत बचाउने डाक्टर नै भगवान भएको उनले बताए । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डा. प्रविन खत्रीले अध्ययनको सिलसिलामा भैरहवा आएको र अध्ययनसंगै विरामीको सेवा गर्न सुरु गरेको बताए । उनले भैरहवाको मायाले यहाँ एकदशक विरामीको सेवामा लागेको बताए । भैरहवावासीसंग पारिवारिक सम्बन्ध स्थापित भएको उनको भनाइ थियो । ‘अबको बसाई काठमाण्डौं भए पनि प्रत्येक महिनाको पहिलो शनिबार भैरहवा आउनेछु, ’उनले भने ।

नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले डा. प्रविन खत्रीको योगदान शब्दमा वर्णन गर्न नसकिने बताए ।

नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक गोपाल उपाध्यायले डा. खत्रीको उज्जवल भविष्यको शुभकामना व्यक्त गरे । उनले डा. खत्रीले विरामीको उपचारमा कुनै कसर बाँकी नराखेको र स्वास्थ्यकर्मीहरुसंग पनि उहाँको प्रगाढ सम्बन्ध स्थापित भएको बताए ।

समाजसेवी उमाशंकर पाठकले डा. प्रविन खत्रीको विरामीलाई उपचार गर्ने तरिकाले आफु प्रभावित भएको बताए ।
समाजसेवी श्रवण कुमार पाण्डेयले चिकित्सकहरुले विपन्न विरामीको उपचारका क्रममा संस्थाको हितमा मात्र नभई विरामीको हितमा पनि काम गर्नुपर्ने बताए ।

समाजसेवी उमाशंकर पाठकको अध्यक्षता तथा रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।