
सोमवार , श्रावण ८, २०८०
बुटवल, ८ साउन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगत बीसीएस दोस्रो वर्ष २०७८ को परीक्षामा नेपाल प्रथम हुन सफल बुटवलकी आयुश्मा रेश्मीलाई नेपाल मगर महिला संघ बुटवल उपमहानगरले सोमबार सम्मान गरेको छ । बुटवलकै लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने बुटवल–१२ की रेश्मीले देशभरबाट सबैभन्दा बढी ८४ दशमलव ४ अंक प्राप्त गर्न सफल भएकी थिइन् ।
सम्मानित भएपछि बोल्दै आयुश्माले विद्यार्थीहरु प्रविधिको विकाससँगै आएका विभिन्न सामाजिक सञ्जालहरुसँग सचेत रहनुपर्ने उल्लेख गरिन् । विद्यार्थीले आफ्नो अध्ययनमा ध्यान केन्द्रित गर्नका लागि सामाजिक सञ्जालहरुलाई केही समय रमाइलोका लागि प्रयोग गरिए पनि त्यसलाई नै आफ्नौ जीवनशैलीका रुपमा प्रयोग गर्न नहुने अनुभव सुनाइन् । आफूसँगै सम्मानित भएका एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उनले आफ्नो महत्वपूर्ण समय सामाजिक सञ्चालभन्दा बढी अध्ययनमा खर्चिन सुझाव दिइन् ।
त्यसै गरी एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिला ल्याई उत्तीर्ण हुने संघमा आबद्ध परिवारका विद्यार्थीलाईसमेत सम्मान गरिएको छ । विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले राजनीतिक क्षेत्रमा पनि अब शिक्षित र प्राज्ञिक व्यक्तिहरुको प्रवेश आवश्यक रहेको बताइन् । नेपाल प्रथम हुन सफल छात्रा आयश्मा रेश्मीले अवसर प्राप्त गर्न सकेमा महिलाहरु अब्बल छन् भन्ने कुरा प्रमाणित गरेको उनले उल्लेख गरिन् ।
त्यसै गरी राज्य सञ्चालनका हरेक निकायमा महिला सहभागीताका लागि शिक्षित र राजनैतिक रुपले प्रशिक्षित पात्रहरुको खाँचो रहेको उपप्रमुख अर्यालले बताइन् । अबको नेतृत्वको हिजोको जस्तो नभई सीप, ज्ञान र प्रतिभाले भरिपूर्ण युवाहरुले गर्नुपर्नेमा उनले जोड दिइन् ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश समन्वय समितिका सचिव मनोज राना, मगर महिला संघ बुटवलका कानूनी सल्लाहकार गोविन्द पुन, संघकी संस्थापक सचिव तथा सल्लाहकार कुमारी थापालगायतले बोल्दै इतिहासदेखि नै जातीय विभेदमा पर्दै आएको मगर समुदायको उत्थान र परिवर्तनका लागि शिक्षा महत्वपूर्ण कडी रहेको उल्लेख गरे । समाज रुपान्तरणको प्रमुख आधार नै शिक्षा भएको हुँदा मगर समुदायको उत्थानका लागि उनीहरुलाई शैक्षिक रुपमा तथा ज्ञान र प्रविधिमा अब्बल बनाउन आवश्यक रहेको उनीहरुले बताए ।
संघकी सल्लाहकार सकुन्तला पुनले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै हिजोदेखि शैक्षिक रुपमा पिछडिएको इतिहासलाई अबका युवाहरुले परिवर्तन गर्न आग्रह गरिन् । संघका अध्यक्ष गौमाया थापाको अध्यक्षता तथा सचिव तिर्थकुमारी सोमरेको सञ्चालनमा सम्मान कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij