२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोहिणीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर 

मंगलवार , श्रावण ९, २०८०

भैरहवा, ९ साउन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरिएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० बमोजिम अर्को व्यवस्था कायम नभएसम्मका लागि प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर गरी काजमा खटाउने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/०८० को शैक्षिक कार्यक्रम र पढाइ समीक्षा गर्दै गाउँपालिकाले लगानी गरेअनुरुप शैक्षिक प्रतिफल प्राप्त हुन नसकेकाले यस आ.व. लाई शैक्षिक दृष्टिकोणले अब्बल र नमूना बनाउनका लागि सबैले सबै क्षेत्रमा आ–आफ्नो जवाफदेहीता प्रवद्र्धन गर्ने निर्णय गरेको छ । त्यसै गरी गाउँ शिक्षा समितिबाट निरन्तर अनुगमन, निरीक्षण र पृष्ठपोषण प्रदान गर्ने तथा क्षेत्र विशेषअनुरुपको विशिष्टीकृत प्रयास गर्नेसमेत निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै बैठकले गाउँपालिका अन्तर्गत सामूदायिक, धार्मिक तथा सामूदायिक सिकाइ केन्द्रको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्नका लागि आजैका मितिदेखि ७ दिनको सूचना प्रकाशन गरी लेखापरीक्षक सूचीकृत गर्ने र सूचीकृत लेखापरीक्षकहरुमध्येबाट विद्यालयको सिफारिस र गाउँपालिकाको निर्णयबमोजिम सबै विद्यालयको लेखापरीक्षण गराउने निर्णय गरेको छ ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रमा केही काम अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले यो कदम चालिएको बताए । उनले रोहिणीलाई शिक्षा क्षेत्रमा राम्रो बनाउने गरी गाउँपालिका अघि बढेको बताए । अध्यक्ष यादवले भने, ‘म निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई जोड दिने जनतामाझ प्रतिवद्धता व्यक्त गरेको थिएँ । विद्यार्थीहरुको नतिजा विश्लेषण गर्दा सन्तोषजनक नदेखिएपछि शैक्षिक गुणस्तर सुधारका लागि लागिपरेका छौं । ’ उनले गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यहाँका राजनीतिक दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवाला, बुद्धिजीविलगायतसँग छलफल गरिएको र उहाँहरुबाट रचनात्मक सहयोग प्राप्त भएको बताए । उनले भने, ‘प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर गरी काजमा खटाउने प्रक्रिया अघि बढाइएको छ । यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि शैक्षिक गुणस्तर सुधार गर्ने अभिप्रायले प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेरको प्रक्रिया अघि बढाइएको बताइन् । उनले भनिन्, ‘भविष्यका कर्णधार विद्यार्थीको राम्रो नतिजा तथा शैक्षिक गुणस्तर सुधारका लागि गाउँ शिक्षा समितिले यो निर्णय गरेको हो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाभित्र रहेका विद्यालयका ३२ जना शिक्षकहरुको जिम्मेवारी हेरफर गरिएको बताए । उनले लामो समयको छलफल तथा चरणबद्ध कार्यक्रमपश्चात यो प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘यहाँका विद्यालयको नतिजा अत्यन्तै निराशाजनक देखिएपछि यो कदम अघि बढेको हो । यो कुनै हठात् निर्णय होइन्, लामो समयदेखि यस विषयमा होमवर्क भइरहेको थियो ।’

रोहिणीमा शिक्षा क्षेत्रको विकासका लागि आगामी दिनमा थप नयाँ कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले गत शैक्षिक सत्रमा कक्षा ८ मा ८ प्रतिशत र कक्षा ५ मा १० प्रतिशत नतिजा आएको र त्यो नतिजा सन्तोषजनक नभएपछि शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफरको प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘समग्र रोहिणीको शैक्षिक गुणस्तर सुधारका लागि अघि बढेका छौं । ’ उनले मावि तहमा मावि स्थायी शिक्षक, निमावि तहमा निमावी स्थायी शिक्षक र प्राविमा वरिष्ठताको आधारमा प्रधानाध्यापक तथा शिक्षक खटाइने जानकारी दिए । उनले रोहिणीका १५ सामूदायिक विद्यालयमध्ये १४ वटा विद्यालयमा प्रधानाध्यापक तथा शिक्षक हेरफेर गरी काजमा खटाइएको बताए ।

रोहिणी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडाअध्यक्ष आबिद अलि पठानले शैक्षिक गुणस्तर सुधारका निम्ति धेरै दिनदेखि लागिपरेको बताए । उनले सबैको सल्लाह सुझाव अनुसार प्रधानाध्यापक तथा शिक्षकहरुको हेरफेरको प्रक्रिया अघि बढेको बताए । विद्यार्थीहरुको नतिजा राम्रो आउन नसकेपछि यो कदम अघि बढाइएको र सफल हुने उनले विश्वास व्यक्त गरे ।