
मंगलवार , श्रावण ९, २०८०
बुटवल, ९ साउन ।
नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ, रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धि निर्णय सच्याउन माग गरेको छ ।
पत्रकार महासंघले आफैले बनाएको सदस्यता वितरण सम्बन्धि मापदण्डविपरीत हुने गरी निर्णय गरेको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिए । प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो ।
पत्रकार महासंघ रुपन्देहीको यही साउन ६ र ७ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । ‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्डभित्र पर्नेलाई पनि सदस्यता दिइएको छैन भने कतिपय मापदण्डभन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको छ, एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेलाई पनि एउटालाई सदस्यता दिने अर्कालाई नदिने निर्णय भएको छ ।’ प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले भने –‘यस्तो विभेदकारी निर्णय नसच्याए प्रेस युनियन आन्दोलनमा उत्रिन बाध्य हुने छ ।’
युनियन अध्यक्ष नेपालले कुनै पनि आस्था र विचारका आधारमा नभइ मापदण्डका आधारमा सदस्यता दिइनुपर्ने बताउँदै सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता शुद्धीकरणलाई समेत गिज्याएको बताए । ‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो । महासंघले लिने हरेक निर्णय सबैका लागि स्वीकार्य हुनुपर्दछ भन्ने हाम्रो प्रष्ट धारणा छ । तर, महासंघले गरेका कतिपय निर्णयहरु आफैमा प्रश्न चिन्न खडा भएकाले त्यस्ता निर्णय सच्याउन नेपाल प्रेस युनियन रुपन्देही जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा भनिएको छ ।
पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापनपत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकोले सच्याउन र अन्यथा अन्यायपूर्ण निर्णयकाविरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराइएको छ ।
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार गरेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउँदै संगठनहरुले असहमति जनाएकाले फेरी छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij