
क्षेत्राधिकार ५२ फुट कायम, ३४ करोड लागत अनुमान
सोमवार , माघ ५, २०७७
तिलोत्तमा, ५ माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले वडा नम्बर १३ को तीनधुरेमा शिलान्यास गरे ।
तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक वहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नम्बर १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।
शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिहरुले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । डिपीआर निर्माणको क्रममा रहेको बताउँदै उनले सडकको क्षेत्राधिकार पूर्णतः क्लियर गराउन नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरे । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उनले सडक निर्माणमा मुआब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पारे ।
प्रादेशिक बसपार्क निर्माण भन्दा पहिले त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताउँदै मन्त्री चौधरीले सडक सञ्जालको विस्तारले बसपार्कको औचित्यलाई आफैं पुष्टि गराउने बताए । बेलबास-बेथरी सडक, तिनाउ करिडोर, पत्थरडाँडा-तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयूक्र्त हुने उनको भनाइ छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी प्रसाद चौधरी, रमा अर्याल, सन्तोष कुमार पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए । उनले सडक विस्तार कार्यमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपाने र वडा नम्बर १४ का वडाध्यक्ष सोहन चौधरीले स्थानीय समाजसेवी, अगुवा, टोल विकास संस्थाका पदाधिकारी लगायत सबैको सहयोगले सडकको क्षेत्राधिकार कायम गर्न सम्भव भएको बताए ।
नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन, वडा नम्बर १४ का वडाध्यक्ष सोहन चौधरीको अध्यक्षता तथा वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेको स्वागतमा कार्यक्रम भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij