
मंगलवार , माघ ६, २०७७
बुटवल, ६ माघ ।
काठमाडौंको बागमती सफाई अभियानको सिको गर्दै बुटवलमा पनि तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ । तीव्र रुपमा वृद्धि भइरहेको जनघनत्व र यसबाट उत्पन्न हुने फोहोरका कारण तिनाउ नदी दुषित भएको भन्दै तिनाउको स्वच्छता र पवित्रता कायम गर्ने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । अभियानले आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदीकिनारको सभ्यता जोगाउन र नदीलाई नियमित सरसफाइ गरी जलचर प्राणीको अस्थित्व जोगाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरह्वील क्लब अफ मिडटाउन बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुको सहकार्यमा नदी सरसफाइ अभियान सुरु गरिएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले बताए ।
सो अवसरमा बोल्दै वरिष्ठ उपसभापति खनालले नदीको सभ्यतासंग मानव विकासको सभ्यता जोडिएकोले बढ्दो प्रदुषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदीहरुलाई सरसफाइ राख्न जरुरी रहेको बताए । उनले विश्वभर प्रदुषण बढिरहेको र वायुमण्डलमा तापक्रम वृद्धि भइ कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएको उल्लेख गर्दै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा जलचर प्राणीहरुको बाँच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान सञ्चालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताइन् । नदीजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाच्न पाउने अधिकारसंगै नदीलाई बिना हस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाइएको र अभियान निरन्तर चल्ने मानव अधिकार तथा शान्ति समाजका रुपन्देहीका सभापति तथा कार्यक्रका सहसंयोजक डिपी खनालले बताए ।
कार्यक्रममा नेपाल पब्लिक प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रेशम बहादुर केसी लगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
वातावरणीय प्रभावका कारण प्रदुषण बढ्दै गएकोमा सर्वत्र चिन्ता गर्न थालिएको छ । तर देशमा रहेका तीनै तहका सरकारले वातावरण बचाउने सवालमा ठोस नीति निर्माण गरी कार्यान्वयन गराउनतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij