
बिहिवार , श्रावण ११, २०८०
भैरहवा, ११ साउन ।
इनरह्वील क्लब अफ लुम्बिनीले भैरहवाको नयाँसडकमा प्रतिक्षालय निर्माण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा कार्यालय–७ को सहकार्यमा निर्मित प्रतिक्षालयको बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख खानले इनरह्वील क्लब अफ लुम्बिनीले महत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले यात्रुको सहजता तथा थकान मेटाउन प्रतिक्षालय उपयोगी भएको बताए । उनले भने, सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउँछौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले प्रतिक्षालय निर्माण हेर्दा सानो भए पनि ठूलो काम भएको बताए । उनले इनरह्वील क्लब अफ लुम्बिनीले केही कार्यक्रम ल्याए सक्दो सहयोग गर्ने बताए ।
इनरह्वील क्लबकी संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३५० नेपालकी एडिटर ज्ञानु पौड्यालले इनरह्वील क्लबले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको र महिला तथा बालबालिकाको क्षेत्रमा केन्द्रीत भएको बताइन् । उनले प्रतिक्षालयमा सन्देशमूलक सूचना लेखिएको बोर्ड राख्न सकिने बताइन् ।
क्लबकी आगामी वर्षकी अध्यक्ष सिर्जना जोशीले सिद्धार्थनगर नगरपालिका–७ स्थित नयाँसडकमा प्रतिक्षालयको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको बताइन् ।
क्लबका सल्लाहकार दिनेश पौड्यालले नगरको विकासका लागि यस्ता कार्यक्रमले धेरै फरक पार्ने बताए ।
क्लबकी अध्यक्ष रुविता पुलामी कार्कीले धेरै जनाको सहयोगले सफलतापूर्वक सम्पन्न भएको बताइन् । उनले २०१५ मा स्थापना भएको क्लबमा हाल २५ जना सदस्य रहेको जानकारी दिइन् । उनले रु. १ लाख ५० हजार लागतमा काशी सिनेप्लेक्स अगाडि प्रतिक्षालय निर्माण भएको बताइन् ।
इनरह्वील क्लब अफ लुम्बिनीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, इनरह्वील क्लब अफ लुम्बिनीकी उपाध्यक्ष बीना भण्डारी पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतिक्षालय उद्घाटनपश्चात वृक्षारोपण कार्यक्रमसमेत गरिएको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij