
ई–लाइब्रेरी सञ्चालनदेखि भिलेज टुरसम्मका योजना
मंगलवार , माघ ६, २०७७
भैरहवा, ६ माघ ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले वर्ष २०७७–२०७९ को लागि विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । क्लबको भवनमा ई–लाइब्रेरी निर्माण गर्नेदेखि प्रदेशस्तरीय भिलेज टुरसम्मको कार्यक्रम क्लबले ल्याएको छ ।
निर्माणाधिन रुपन्देहीको मायादेवी–८ स्थित क्लबको भवनको निर्माण कार्यलाई अगाडी बढाउने, मिडिया संग्रहालय स्थापनाको लागि आवश्यक पूर्वाधार तयार गर्ने र पत्रकारिता संग्रहालय स्थापना गरी उक्त संग्रहालयमा लुम्बिनी प्रदेशका १२ जिल्लाको पत्रकारिताको इतिहास समेटिएको विभिन्न वस्तु राखिने क्लबले जनाएको छ ।
लुम्बिनी प्रेस क्लबको निर्माणाधिन भवनमा अत्याधुनिक आइटी फ्रेन्डली ई–लाइब्रेरी सञ्चालन गर्ने र भवन हाताभित्र बुद्धको मुर्ति राख्ने निर्णय गरिएको क्लबका अध्यक्ष नरेश के.सी.ले बताए ।
क्लबका अध्यक्ष के.सी.को अध्यक्षतामा सल्लाहकार तथा विषयगत समितिका संयोजकसहितको सोमबार भैरहवामा सम्पन्न बैठकले क्लबले अगाडी सारेका नीति तथा कार्यक्रम सम्पन्न गर्नका लागि सम्पूर्ण सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरिएको महासचिव कमल रायमाझीले बताए ।
विधान अनुसार कार्य क्षेत्रमा रहेका सक्रिय पत्रकारले निवेदन दिएमा कार्यसमितिले सदस्यता दिन सक्ने, स्वदेशी तथा विदेशी प्रेस क्लबहरुसंग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने क्लबले जनाएको छ ।
क्लबको कोष अभिवृद्धिको लागि उपाध्यक्ष सम्झना शर्माको संयोजकत्वमा निवर्तमान कोषाध्यक्ष दीपक घिमिरे र कार्यालय सचिव माधब न्यौपाने रहेको चार सदस्यीय आर्थिक समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
क्लबले रुपन्देहीका विभिन्न पालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम, लुम्बिनी न्यूज फेस्टिभल, प्रदेश सरकारको समन्वयमा सांस्कृतिक महोत्सव, नयाँ वर्षको अवसर पारेर भवन निर्माण सहयोगार्थ चिठ्ठा कार्यक्रम, विभिन्न आयोजना तथा परियोजना एवं निकायको वृत्तचित्र निर्माण गर्ने कार्यक्रम ल्याएको छ ।
त्यसै गरी महिनामा कम्तिमा २ वटा पत्रकार सम्मेलन कार्यक्रम, पत्रकार क्षमता अभिवृद्धि तालिम, क्लबको नाममा रहेको पत्रकारिता कल्याणकारी अक्षयकोषलाई यो कार्यसमितिको कार्यकालमा बढाएर कम्तिमा ५ लाख पु¥याउने क्लबका सचिव शंकर पाण्डेले बताए ।
भुवन कुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार व्यवस्थित गर्ने, भास्करानन्द शिक्षा पत्रकारिताका लागि कार्यविधि बनाउने, सिद्धार्थनगर नगरपालिकाको पत्रकारिता पुरस्कारलाई कार्यन्वयनमा ल्याउने र थप विभिन्न संघ–संस्थाको सहकार्यमा नगद राशिको पुरस्कार स्थापना गर्ने र कार्यविधि बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै वर्षमा दुईपटक जिल्लाभरीका पत्रकार मिलन कार्यक्रम, लुम्बिनी प्रेस क्लब स्थापना दिवस मनाउने, कोरोना कहरपछि सदस्यहरुको लागत सहभागितामा विदेशको भ्रमण, पत्रकार डाइरेक्टरी/क्यालेण्डर प्रकाशन, सदस्यहरुलाई डायरी, झोला तथा ज्याकेट वितरण, प्रत्येक महिना विभिन्न विषयमा सरकारी, गैरसरकारी कार्यालयका प्रमुखहरु तथा औद्योगिक व्यवसायिक प्रतिष्ठानसंग अन्तरक्रिया, वातावरण र पर्यावरण संरक्षण सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसै गरी सरसफाई सम्बन्धी अभियान, पत्रकार पेन्सन कार्यक्रमलाई अगाडी बढाउने, विद्यालयहरुसंग अन्तरक्रिया तथा बजार अनुगमनलाई प्रोत्साहित गर्ने, देउसी भैलो, होलि मिलन जस्ता कार्यक्रम गर्ने, क्लबको सदस्यको जन्मदिनमा क्लबमा केक काट्ने, साहित्यकार, बीएमजी ग्रुप तथा नागरिक समाजका संघ–संस्था मिलेर समाज रुपान्तरण र पारदर्शिताको क्षेत्रमा काम गर्ने कार्यक्रममा उल्लेख छ ।
विभिन्न क्याम्पसहरुमा पत्रकारिता अभिमूखीकरण तालिम गर्ने, क्लबको वेभसाइट सञ्चालन गर्ने, वृहत बनभोज कार्यक्रम, आन्तरिक अध्ययन भ्रमण, पत्रकार अन्तरसंस्था खेलकुद कार्यक्रम, सञ्चारकर्मीहरुको लागि स्वास्थ्य शिविर र प्रत्येक विस्तारित बैठकमा लेखा समितिको रायमा संस्थाको आयव्यय विवरण जानकारी गराउने, पत्रकारितामा लैंगिक समानता सम्बन्धी कार्यक्रम, पत्रकार आचारसंहिता र जनविश्वास कार्यक्रम गरिने क्लबले जनाएको छ । भिलेज टुर अन्र्तगत (प्रदेशका विभिन्न गाउँपालिकाहरुसँग समन्वय गरेर स्थलगत रिपोर्टिङका लागि यो कार्यक्रम गरिने क्लबले जनाएको छ ।
त्यस्तै पर्यटन प्रबद्र्धनमा पत्रकारिता सम्बन्धी कार्यक्रम, प्रदेशस्तरीय अनुसन्धानमुलक जर्नल प्रकाशन, विभिन्न अस्पतालहरुमा लुम्बिनी प्रेस क्लवका सदस्य तथा परिवारलाई उपचारमा सहुलियत दिलाउन पहल गर्ने, ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर गर्ने र स्थानीय जनप्रतिनिधि र राजनीतिक दलसँग अन्तक्रिया गर्ने कार्यक्रम क्लबले अघि सारेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij