
आइतवार , श्रावण १४, २०८०
बर्दिया, १४ साउन ।
बाघ संरक्षणमा एक दशकमै दोब्बर सफलता हासिल गरेपछि अहिले बढेको बाघको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् । एक दशकमा बाघको संख्या दोब्बर गर्ने भन्र्दैे सन् २०१३ मा रुसमा सम्मेलनमा बाघ पाइने विश्वका नेपालसहित १३ देशले हस्ताक्षर गरेका थिए ।
त्यतिबेला बाघको संख्या दोब्बर गर्ने भनेअनुरुप नेपालमा पनि बाघ संरक्षणमा सबै जुटेअनुसार बाघको संख्या अहिले एक दशकमा दोब्बर भन्दा बढी भएको छ ।
बाघको संख्या बढेसँगै बढेका बाघको ब्यवस्थापन कसरी गर्ने भन्नेमा अहिले चिन्ता बढेको छ । बाघको संख्या त बढयो तर बढेका बाघसँगै उनीहरुको आहारा, बास स्थान, पोसिलो घास र पानी पोखरीको व्यवस्थापनमा ध्यान अहिलेदेखि नै दिन नसकेमा बाघको बढेको संख्यालाई कायम राख्न चुनौती आउने बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
‘बाघको संख्या बढ्दै जानुले एकातर्फ हामी संरक्षणकर्मीहरु खुसी छौं, साथमा चिन्तित पनि छौं, अब बाघको व्यवस्थापनमा ध्यान नदिए बाघको कायम संख्या के हुने हो भन्ने हो, ’थापाले भने । बाघको बढ्दो संख्याको कारण उनीहरु आवश्यक सुरक्षित बासस्थान, आहारा एवं पानीको खोजीमा बस्ती पस्ने गरेको घटनाहरु घट्ने गरेको उनले बताए । ‘त्यसैले अब बाघका आहारा, बासस्थान, पानीको व्यवस्थापनमा अहिलेदेखि नै लागिएन भने संकट आउँछ, ’थापाले भने । बाघको लागि आहारा, पानी र बासस्थानको ब्यवस्थापन गर्न सके मानव र बाघबीचको द्वन्द्व धेरै कम गर्न सकिने उनको भनाइ छ । ‘बाघ बढेसँगै बासस्थानको अभाव हुन्छ, त्यस अवस्थामा बाघ–बाघबीच नै द्वन्द्व हुन्छ, र पराजित बाघ नयाँ गन्तव्यको र आहाराको खोजीमा मानव बस्तीको छेउमा आउने वा मारिने सम्भावना हुन्छ, ’थापाले भने ।
नेपालमा बाघ संरक्षणमा सबैभन्दा राम्रो सफलता बर्दिया निकुञ्जमा हासिल भएको छ । सन् २०१० मा १८ वटा बाघबाट संरक्षण सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले १२५ वटा बाघ रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
बाघको संख्या बर्दिया निकुञ्जमा एकदम बढेको छ । ‘रसियाको सेन्टपिट्र्सबर्गमा आयोजित बाघ सम्मेलनमा नेपालले गरेको प्रतिवद्धताअनुसार अहिले नेपालको बाघको संख्या दोब्बर पुगेको छ भने बर्दियामा दोब्बर भन्दा अधिक नै पुगेको छ, ’भण्डारीले भने । ‘अहिले हामी बाघ बढेसँगै त्यसको व्यवस्थापनमा पनि ध्यान दिएका छौं र सोहीअनुरुप ग्रिडअनुसारको सोलार प्रविधिबाट पानी निकाल्ने पानीपोखरी, घाँसेमैदान, पोसिलो घाँस लगायतमा हामी ध्यान बढाएका छौ, व्यवस्थापन हुन सकेन भने बाघ आहाराका लागी मानव वस्तीतिर जान सक्ने जोखिम पनि उच्च छ, मानव वस्तीतिर प्रवेश गरे बाघ र मानवबीच द्वन्द्व बढछ । यसले दुवैलाई खतरा छ, अब हाम्रो ध्यान बढेको बाघको व्यवस्थापन गर्नेतर्फ केन्द्रित छ, ’उनले भने ।
बढेका बाघलाई बाहिर नदिन विभिन्न कार्यहरु भइरहेका छन् । बासस्थान र आहारको अभावमा नजिकैका मध्यवर्ती क्षेत्र, पहाडी वन र सीमावर्ती भारतीय जंगलमा जान सक्ने प्रबल सम्भावना रहेको उनले बताए । ‘त्यसैले बढेका बाघहरु रोक्नलाई पनि बासस्थान, आहार, पानीको व्यवस्थापन छिटो गर्नुपर्छ भन्ने हाम्रो धारणा हो र त्यहीअनुरुप काम सुरु गरेका छौं, सबैको सहयोग आवश्यक छ, ’भण्डारीले भने ।
बाघको लागि अहिले निकुञ्जले प्रत्येक २/२ किलोमिटरको ग्रिड बनाइएको छ, हरेक ग्रीडमा ३ देखि ५ हेक्टरको घाँसेमैदान, त्यहाँ सौर्य उर्जाबाट चल्ने मोटरबाट २४ सै घण्टा पानीको व्यवस्था गरिएको छ । यसले बाघको सामानुपातिक आहाराको वितरण हुने भण्डारीले बताए ।
बर्दियाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मी मोहन चौधरीले बाघको संख्या बढेसँगै चुनौती थपिएको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारले बाघ व्यवस्थापनमा वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘बाघको संख्या बढ्यो तर त्यसअनुरुप पर्यटन व्यवसाय फस्टाउन सकेन, अब बाघलाई समृद्धिसँग जोडेर अघि बढनुपर्छ , चौधरीले भने ।
पर्यटन व्यवसायी कृष्ण भट्टराईले २०४० सालपछि बाघ हेर्न पर्यटक बर्दिया आउन थालेको बताउँदै बाघको संख्या दोब्बर भएजस्तै पर्यटकको संख्या पनि दोब्बर बनाउने गरी अघि बढनुपर्ने जनाए ।
ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्यले बर्दिया निकुञ्जले स्थानीय उपभोक्ता समितिलाई सीमित आम्दानी प्रदान गर्ने गरेको र यो निकै न्यून रहेको बताए । ‘हामीले हाम्रो परिवार तथा आफन्त बाघ संरक्षणका नाममा गुमायौं तर पनि संरक्षण अभियानमा लागिपर्यौ, फलस्वरुप आज बाघको संख्या दोब्बर भएको छ तर बाघका कारण अभिभावक आफन्त गुमाएकाहरु समुदायमा दुःखी भएर बाँचेका छन्, सरकारले समुदायको योगदानको आधारमा हेर्नुपर्छ, आचार्यले भने ।
संरक्षणमा लागेका संरक्षणकर्मी जेडएसएल नेपालका विष्णु थपलियाले भने, ‘हामीले प्रतिबद्धताअनुसार बाघको संख्या दोब्बर बनार्यौ अब व्यवस्थापनमा छिटो लाग्नुपर्छ ।’ राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङफेले बाघको व्यवस्थापनको लागि योजना अघि बढेको बताए ।
बर्दिया निकुञ्जमा सन् २०२२ को डिसेम्बरमा भएको बाघ गणना अनुसार २५ वटा बाघ रहेको छ । सो वर्ष भएको बाघ गणनाअनुसार नेपालमा जम्मा ३५५ बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा पाइएको छ । बाँकेमा २५ वटा पाटे बाघ रहेका छन् । लुम्बिनी प्रदेशमा पाटे बाघ बढनुका कारण यहाँ भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । सन् २०१३ मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । १० वर्षमा बढेर २५ पुगेको छ । अहिले बाघको संख्या चितवन राष्ट्रिय निकुञ्जमा १२८, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा ४१ वटा गरी सन् २०२२ को गणनाअनुसार बाघको संख्या अहिले ३५५ रहेको छ ।
निकुञ्ज क्षेत्र साथै मध्यवर्ती र आसपासका वन क्षेत्रमा मात्रै नभइ नेपालका उच्च पहाडी क्षेत्रमा पनि अघिल्लो बर्ष २ बाघ फेला परेका थिए । इलामको ३१६२ मिटर उचाई क्षेत्र र डडेलधुराको २५ सय मिटर उचाईमा १/१ वटा बाघ फेला परेको थियो ।
बाघको गणना
प्रत्येक ४/४ वर्षमा हुने बाघ गणना गत वर्ष डिसेम्बरमा भएको थियो । प्रत्येक ४ वर्षमा बाघ गणना हुने गरेको छ । सबै राष्ट्रिय निकुञ्ज साथै बाघ पाइने तराई र पहाडका सम्भावित मध्यवर्ती र आसपासका वन क्षेत्रमा समेत बाघ गणना हुने गरेको छ । अघिल्लो पटक बाघ गणना हुँदा ३३९ जनशक्ति परिचालन गरिएको थियो ।
नेपालमा बाघ गणना हुँदा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ ,२०१८ मा २३५ र २०२२ मा भएको बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
त्यतिबेलाको प्रतिबद्धताअनुसार नेपालमा बाघको संख्या सन् २०१८ मै २३५ पुगेको र अहिले संख्या दोब्बर भन्दा बढी छ । बाघको खाना, आहारा र वासस्थानको उचित व्यवस्थापन एवं चोरी सिकारी नियन्त्रणको राम्रो प्रयासका कारण नेपाल बाघ संरक्षणमा सफल भइरहेको र बाघको संख्या समेत बढदै गएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij