२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवलमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान 

बिहिवार , श्रावण १८, २०८०

बुटवल, १८ साउन । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघ–संस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको पाण्डेले बताए ।

छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेंगीका संक्रमितको संख्या नबढीसकेकोले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको छ ।

‘१९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौं–उनले भने–यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागीता र सचेतना जरुरी हुन्छ, यदि व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौं, पानी जम्न दिनुभएन र लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो ।’

उनले हरेक कार्यालयहरुमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए । हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकै रुपमा सञ्चालन हुने उनले बताए ।

संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए ।

निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरुले संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उनले बताए । रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताए पनि बुटवलमा अहिलेसम्म संक्रमित फेला परेका छैनन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगी नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सञ्चालन गर्ने बताए । उनले सबैले एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताए । उनले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्रीहरु तयारी अवस्थामा राख्ने बताए । उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधिउपचारको व्यवस्था गर्ने बताए ।