२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर नगरपालिकाले करमा वृद्धि गरेको भन्दै स्थानीयबासीद्वारा विरोध

शुक्रवार , श्रावण १९, २०८०

भैरहवा, १९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले करमा उल्लेख्य वृद्धि गरेको भन्दै स्थानीयबासीले विरोध गरेका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा दशौं गुनासम्म भूमिकर वृद्धि गरिएको भन्दै स्थानीयबासीले नगरपालिकाको आलोचना गरेका हुन् ।

गत वर्ष रु. १५० भूमिकर तिरेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित विपीपथका रुद्र ज्ञवालीलाई यस वर्षको कर रु. १ हजार २ सय तिर्नुपर्यो । नगरपालिकाले आठ गुना कर बढाएको भन्दै ज्ञवालीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्– यो भन्दा बढी जनमैत्री निर्णय अरु के हुन सक्छ र, स्याबास सिद्धार्थनगर नगरपालिका ।

साउन लागेपछि वडा कार्यालयहरुमा तिरो अर्थात कर तिर्न जानेहरु दुःखी भएर फर्किने गरेका छन् । आर्थिक मन्दीको बेला नगरपालिकाले अचाक्ली कर वृद्धि गरेर नागरिकको ढाड सेक्ने काम गरेको स्थानीयबासी बताउँछन् ।

भूमिकर वृद्धि गरिएकोप्रति व्यंग्य गर्दै साहित्यकारसमेत रहेका ज्ञवाली लेख्छन् – हामीले खाली नगरपालिकाले केही गरेन मात्रै भन्छौँ । गरेको हेर्नु छैन हेर्दै नहेरी गरेन भन्छौं । भलै नगरपालिकाले पोखरी बनेका सडकमा डुंगा या स्टिमर चलाएन होला, अँध्यारा कुनामा झुण्ड्याइएका तर महिनौदेखी नजलेका बल्ब फेरेन होला र अरू पनि थुप्रै काम गर्न सकेन होला । त्यो अर्कै कुरा । बढेको बजारभाउले ढाड सेकिरहेको यस्तो बेलामा नगरवासीको राहतका लागि हाम्रो महान नगरपालिकाले अघिल्लो आर्थिक वर्षसम्म रु. १५०/-मात्र रहेको भूमी तथा मालपोत कर जम्मा १०५०/- वृद्धि गरेर १२००/- पुर्याएछ । प्रतिशतमा त कति वृद्धि भयो कुन्नी क्यालकुलेटरले हिसाब मिलाउनै जानेन ।

योभन्दा बढी जनमैत्री काम कति गर्नु त नि । सकेको र सक्ने गर्ने त हो । नगरबासीप्रति हदै दयालु र हदै जिम्मेवार सिद्धार्थनगर नगर कार्यपालिकाका जनसेवी प्रतिनिधिज्यूहरूमा यस महान कार्यका लागि महान बधाई । अरू पनि यस्तै यस्तै महान कार्य गर्दै रहनुहोला ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महिला नेतृ तथा सिद्धार्थनगर नगरपालिकबाट गत स्थानीय तहको निर्वाचनमा उपप्रमुखकी उम्मेदवार विनिता गुप्ताले वर्तमान जनप्रतिनिधि जनताको गुनासो सुन्नुभन्दा जनतालाई निराश बनाउने काम गरेको बताइन् । उनले भनिन्, ‘यसमा नगरप्रमुख र उपप्रमुख दुवै जिम्मेवार छन्, पछिल्ला गतिविधि यो कुरा पुष्टी गरिसकेको छ ।’

भीम अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका  स्वतन्त्र नागरिक अभियान रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले सामाजिक संजाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘सिद्धार्थनगर नगरपालिकाको एकीकृत भूमिकर अनुसार धेरै जनताको गुनासो तिर्न नसकिने गरी भूमिकर बढेपछि बोल्नुपर्यो भन्ने आएको छ १ गत साल १० हजार तिरेको हिजो गएर हिसाब गर्दा जम्मा १ लाख २९ हजार भयो रे अनि के हो यो ?

नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले सिद्धार्थनगर नगरपालिकाले भूमिकर वृद्धि गरेकाले अहिले व्यापारदेखि सम्पूर्ण अवस्थामा परेको नकारात्मक प्रभावको बेला तुरुन्तै भूमिकर हटाइ सहज वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का बैजनाथ गुप्ता (बी.एन.)ले नगरपालिकाले भूमिकर वृद्धि गरेर जनतामाथि ज्यादती गरेको आरोप लगाए । उनले नगरपालिकाले यो निर्णय नसच्याए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

समाजसेवी प्रख्यात बन्जाडे भन्छन्, ‘कर लिएर जन्तालाई सेवासुविधा दिने हो । करको दायरा जति बढ्दै जान्छ त्यति काम गर्ने व्यवसायी तथा कर तिर्न योग्य व्यक्ति निराशामा परिणत हुँदै जान्छ पलायन हुने क्रम बढ्छ । सरकारको सोचमा परिर्वतन हुनुपर्दछ । ट्रेन्ड के देखियो भने जन्तासँग कर मात्र लिने । गलत सोच । रुपन्देही जिल्लाभरी विशेष सिद्धार्थनगर नगरपालिकामा अत्यधिक एकीकृत सम्पत्ति भूमिकरको नाममा आतंक नै देखिराखेको छ । सिद्वार्थनगर नगरपालिकाका मेयर साहव र उपमेयरज्यूले अविलम्व एकीकृत सम्पत्ति भूमिकरमा पुनरावलोकन गर्नुहोला ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलका अनुसार मालपोत कार्यालयको मूल्यांकनलाई आधार मानेर भूमिकर निर्धारण गरिएको दावी गरे । उनले भने, ‘२ सय मिटरको दुरीमा रहेका दुई सरकारी निकायमा अलग–अलग मूल्यांकन हुनु न्यायोचित भएन, त्यसैले मालपोतकै दररेट कायम गर्ने निर्णय भएको हो । उनले एशियाली विकास बैंकको सुझाव समेतका आधारमा कर निर्धारण भएको बताए ।

नगरप्रमुख इश्तियाक अहमद खानले करसम्बन्धी जनताको व्यापक गुनासो आएकाले छलफल सुरु गरिएको जानकारी दिदै घटाउन सकिने संकेत गरे ।