२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मझगावाँलाई मर्चवार क्षेत्रको ‘मुख्य शहर’ बनाइँदै

आइतवार , श्रावण २१, २०८०

भैरहवा, २१ साउन ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले मझगावाँलाई मर्चवारको मुख्य शहरको रुपमा निर्माण गर्न सुरु गरेको छ । कोटहीमाई–५ स्थित मझगावाँको आसपासका सडक, सडक पेटी, नालीसहित फराकिलो गरी निर्माण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । 

शहरी विकास मन्त्रालयसँग समन्वय गरी ल्याएको करीब ३ करोडको लागतमा सडक संरचनाबाट निर्माण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए । 

मझगावाँको कृषि विकास बैंकदेखि कोटहीमाई गाउँपालिकाको सभाहलसम्म २२ फिट चौडाईको आरसीसी सडकसहित दुवैतर्फ ४–४ फिट नाली समेत निर्माण कार्य सुरु गर्न लागेको अध्यक्ष त्रिपाठीले जानकारी दिए । त्यसै गरी मझगावाँको मुख्य चोक वडा नम्बर ५ को कार्यालयदेखि बैरघाटसम्म १८ सय मिटरभन्दा बढी कालोपत्रे सडकसहित नाली तथा सडकपेटी समेत निर्माण हुने अध्यक्ष त्रिपाठीले बताए ।

मझगावाँलाई शहरको रुपमा विकास गर्ने योजनाबारे जानकारी दिदै कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजय कुमार सैनीले शहरलाई आवश्यक अन्य भौतिक संरचनाहरु पनि क्रमशः निर्माण गर्दै जाने बताए । आगामी दिनमा सार्वजनिक शौचालय, उचित पार्किङ्गको व्यवस्था, स्वच्छ खानेपानीको व्यवस्था, फोहोरको व्यवस्थापन लगायतका सार्वजनिक ठाउँको सुन्दरीकरणका योजना निर्माण गरी कार्य गर्ने वडाअध्यक्ष सैनीले जानकारी दिए ।

शहरी विकास मन्त्रालयबाट आएको उक्त बजेट दर्शन मालिका बिल्डर्स प्रा.लि. सँग सम्झौता भएको निर्माण कम्पनीका सुपरभाइजर केशव केसीले जानकारी दिए । चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी निर्माण कार्य ३ दिनभित्र सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । काम गर्ने सडकको छेउमा निर्माण भएका अन्य संरचनाहरुको व्यवस्था नहुँदा कार्यमा ढिलाई भएको निर्माण कम्पनीका सुपरभाइजर केसीले बताए ।

उनले भने, ‘सडकको क्षेत्रभित्र पर्ने अन्य संरचनाको एकीन भइसकेको छ गाउँपालिकाले त्यसलाई हटाउन सूचना समेत टाँस गरेको छ अहिले सब बेस राख्ने काम सुरु गरी उक्त संरचना हटिसकेपछि नाला निर्माण कार्य सुरु हुन्छ । ’