
पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति
बुधवार , माघ ७, २०७७
काठमाडौं, ७ माघ ।
‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकाहरु प्रत्येकलाई वार्षिक १२ हजारको दरले छात्रवृत्ति प्रदान गरिने छ र यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुञ्जेलसम्म निरन्तर रहनेछ ।
समाजका अनुसार मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादर वैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई रु. १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरिनेछ ।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गरिने भएको छ ।
त्यसै गरी शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु विकास थापा, नम्रता खरेल, समाजका मोरङ शाखा सभापति भेषराज पोखरेल, पूर्व सभापति डिल्लीबहादुर कार्कीबाट ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ।
साथै आजीवन सदस्यहरु मणिराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा पहिलो चरणमा प्रक्षेपित पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजारको सहयोगको प्रतिवद्धता व्यक्त गर्ने सबैमा शान्ति समाज हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ । सहयोगी हातहरु थपिदै गएमा छात्रवृत्ति संख्या पनि वृद्धि गर्दै यो अभियान अन्य जिल्लाहरुमा समेत विस्तार गरिनेछ ।
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि अभियान संचालन कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित भएको हो । मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति नेपालकै वरिष्ठ मानव अधिकारवादी नेता कृष्ण पहाडी हुन् ।
२०६२/०६३ को जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दातृ संस्था, फाउण्डेशन, सरकारी निकाय, धार्मिक संघ–संस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन ।
समय आन्दोलन नामक अभियान अन्तर्गत निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ । पछिल्लो समय गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने अभियान संचालन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij