
बिहिवार , माघ ८, २०७७
बुटवल। काठमाडौंमा हुने राष्ट्रिय स्तरको स्नूकर प्रतियोगिताका लागि रुपन्देहीबाट चारजना खेलाडी छनोट भएका छन्।
काठमाडौंमा माघ २४ गतेदेखि हुने चक्र लामा÷किसन लामा स्मृति खुल्ला प्रतियोगितामा सहभागिताका लागि रुपन्देही पूल तथा स्नूकर संघ रुपन्देहीले बुटवलमा वार्मअप टुर्नामेन्ट (अभ्यास खेल प्रतियोगिता) गरेको थियो।
बुटवल अमरपथस्थित खस्यौली स्नुकर क्लबमा माघ २ गतेदेखि ७ गतेसम्म चलेको प्रतियोगिताबाट सुजन पुन प्रथम, शिशिर गुरुङ दोस्रो तथा सुमित तुलाधर र शारन राणा सेमिफाइनलिस्ट गरी चारजना छनोट भएका हुन्।
प्रतियोगितामा जिल्लाका ६४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। छनोट खेलमा उत्कृष्ट भएका चारजना खेलाडीलाई बुधबार एक समारोहबीच पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्री, रुपन्देही पूल तथा स्नूकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सल्लाहकार सन्जय बज्राचार्य लगायतले ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका छन्।
सो अवसरमा संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य हरि क्षेत्रीले स्नूकल खेलाडीलाई सहयोगका लागि ५० हजार रुपैयांको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा हुने प्रतियोगितामा रुपन्देहीकै अन्तर्राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र एकजना उदियमान खेलाडीसहित ६ जना जानेछन्।
उनीहरुलाई वार्म अप टुर्नामेन्टको दर्ता शुल्कमा उठेको रकम प्रदान गरिने छ। कार्यक्रम संघका सचिव शिव रानाले सञ्चालन गरेका थिए। कार्यक्रममा खेल संयोजक नवीन गुरुङलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
अजिमा स्नूकर हाउसको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार पाउने छन्।
....
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij