
आइतवार , श्रावण २८, २०८०
भैरहवा, २८ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेका औषधि पसल, स्वास्थ्य क्लिनिक, डेण्टल लगायत स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ ।
कार्यालयले अनुगमन समितिको संयोजक एवं उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा नियमित अनुगमन अन्तर्गत आइतबार नगरमा रहेका १७ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु नगरपालिकाको कार्यालयमा दर्ता/नविकरण नभइ सञ्चालनमा रहेको पाइएको समितिको संयोजक अधिकारीले बताइन् । ‘हामीले विभिन्न १७ वटा क्लिनिक, औषधी पसल, डेण्टल लगायतमा अनुगमन गर्यौँ’ उनले भनिन्, ‘त्यसमध्ये एउटा औषधि पसलमा म्याद गुज्रिएको औषधी र दर्ता पनि नरहेको पाइएपछि औषधि जफत गरी उक्त पसल तत्कालका लागि बन्द गरी कारवाही गरेका छौँ ।’
अनुगमन समितिले बन्द गरेको पसल सञ्चालकलाई पसलसँग सम्बन्धित कागजातहरुसहित नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरु मापदण्डमा सञ्चालनमा रहेको पाइएको र अधिकांश नगरपालिकाको कार्यालयमा दर्ता/नविकरण नभइ सञ्चालनमा रहेको पाइएकोले मापदण्डमा सञ्चालन गर्न निर्देशन दिदै पहिलो पटकको लागि सचेत गराइएको उपप्रमुख अधिकारीको भनाइ छ ।
उनले अनुगमन निरन्तर हुने भएकोले सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताइन् ।
अनुगमन टोलीमा संयोजक तथा नगर उपप्रमुख अधिकारीसहित वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपाने, अधिकृत विजयनाथ चौधरी, राजस्व शाखा अधिकृत हिरा बराल, ल्याब टेक्निसियन रोमा घिमिरे, पत्रकार, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij