२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित

आइतवार , भाद्र १०, २०८०

भैरहवा, १० भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले मधुमेह सम्बन्धी सचेतना, मधुमेह परीक्षण तथा आँखा शिविर आयोजना गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ कटैयास्थित शिव शक्ति आमा समूहको हलमा आयोजना गरिएको शिविरमा २४० जनाको मधुमेह तथा आँखा परीक्षण गरिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष भोजराज बस्यालले बताए । उनले यसअघि रुपन्देहीको मायादेवी गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरेको र अहिले ओमसतिया गाउँपालिकामा सञ्चालन गरेको बताए ।

ओमसतिया गाउँपालिका वडा नम्बर १ को सहयोग, नेपाल फार्मास्युटिकल एशोशिएशन (एनपीए) लुम्बिनी प्रदेश, सिद्धार्थनगर सिटी हस्पिटल र श्रीकृष्ण नेत्रालयको प्राविधिक सहयोगमा शनिबार एकदिने शिविर आयोजना गरिएको क्लबका निवर्तमान अध्यक्ष गजेन्द्र कोहारले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले आँखाको रोग सम्बन्धी समस्या बढेको बेला लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले शिविर आयोजना गर्नु सराहनीय रहेको बताए । उनले आगामी दिनमा महिला रोगसम्बन्धी शिविर आयोजना गर्न आग्रह गर्दै गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने बताइन् ।

त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५, नेपालका ग्याट टीम कोर्डिनेटर महेशचन्द थापाले मधुमेह र आँखाको क्षेत्रमा लायन्सले काम गरिरहेको बताए । उनले मधुमेह र आँखासम्बन्धी जनचेतना फैलाउने लायन्सको उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रम संयोजक धर्मेन्द्र चौधरीले सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक धर्मेन्द्र चौधरीको स्वागत, लायन्स सिद्धार्थनगर सेन्टिनियलका तृतीय उपाध्यक्ष गणेश खनालको स्वागत तथा क्लबका सचिव मोती प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का निर्देशक डा. अमित चर्तुवेदीले मधुमेह रोगसम्बन्धी जानकारी गराएका थिए ।