
बुधवार , भाद्र १३, २०८०
बुटवल, १३ भदौ ।
पछिल्लो समय ब्याडमिन्टन खेलाडीहरुको रोजाइको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तीका लागि खेलिने यो खेलप्रति सबैको रुची र आकर्षण पनि बढ्दै गएको छ ।
ब्याडमिन्टन खेलको समग्र विकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लब र ब्याडमिन्टन संघमा पनि आबद्ध भएका छन् ।
लुम्बिनी प्रदेशमा ब्याडमिन्टन खेलको विकास र यस क्षेत्रका खेलाडीहरुलाई एकसुत्रमा बाध्ने उद्देश्यले नेपाल ब्याडमिन्टन संघ लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
नेपाल ब्याडमिन्टन संघमा आबद्ध भएका लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र दाङ जिल्लाका अध्यक्ष र सचिवहरुको भैरहवामा भएको भेलाले महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा दीप आचार्य, बोनिन पिया, सन्दिप श्रेष्ठ, राजकुमार पोख्रेल, त्रीविक्रम जोशी, नवराज श्रेष्ठ, सुरेश श्रेष्ठ, भास्कर मजगैया, शैलेन्द्र बहादुर बज्राचार्य, शकुन्तला भुसाल अधिकारी, हरी वली, दिनेश हमाल र राम थापा रहेका छन् ।
भेलामा तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी बहादुर श्रेष्ठले निजी क्षेत्रले खेलाडी र खेल क्षेत्रको विकासका लागि ठूलो लगानी गरेको भए पनि ब्याडमिन्टन तथा अन्य खेल र खेलाडीको विकासका लागि सरकारले खासै सहयोग नगरेको गुनासो गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेलमध्ये एक भए पनि यो खेलको विकासका लागि राज्यको लगानी र विशेष ध्यान पुग्न जरुरी रहेको बताए ।
भेलामा नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु विरेन्द्र श्रेष्ठ, नविन विक्रम शाह, राजु थापा, तिलक पाण्डेलगायतले लुम्बिनी प्रदेश तदर्थ समितिले ब्याडमिन्टन खेलको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
भेलाले ब्याडमिन्टन एशिया, साउथ एशिया मिक्स डबल खेलमा काश्य पदक प्राप्त गर्ने अभय महरा र रजत पदक प्राप्त गर्ने सुविन श्रेष्ठलाई बधाई ज्ञापनसहित थप प्रगतिको कामना गरेको ब्याडमिन्टन संघका रुपन्देही महासचिव दीप आचार्यले बताए ।
नेपालमा ब्याडमिन्टन वि.सं. १९८९ देखि नै खेल्न थालिएको भए पनि वि.सं. २००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएको थियो । नेपालमा ब्याडमिन्टन खेलको इतिहास लामो भए पनि यस खेलको विकासमा राज्यले सोचेजस्तो विकास गर्न नसकेको खेलाडी र यस खेलको विकासमा लागेकाहरु बताउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij