
मंगलवार , भाद्र १९, २०८०
रुपन्देही, १९ भदौ ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
प्रभावकारी सार्वजनिक सेवा, विकास निर्माण, सार्वजनिक वित्त व्यवस्थापनमा पारदर्शिता, जवाफदेहीता, उत्तरदायित्व र जनसहभागीता प्रर्वद्धनको लागि सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहभागी जनाएका विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजीवि, किसान, तथा सरोकारवालाहरुले समृद्ध गैडहवाको अभियानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
राजनीतिक दलको तर्फबाट रामदेव यादव, गौतम शर्मा, तुल्सी यादव, प्रेम राना लगायतले बोल्दै गैडहवा गाउँपालिका सम्भावना बोकेको पालिका भएको भन्दै प्रभावकारी सेवा तथा विकास निर्माणमा कमजोरी नगर्न सुझाव दिएका थिए । उनीहरुले स्वास्थ्य चौकी, तालिमहरुको व्यवस्थापन, विद्यालय शिक्षा सुधार , अपांग सहायता तथा रोजगारी, सडक पूर्वाधार, नदीजन्य पदार्थको व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, वडा कार्यालयबाट हुने दैनिक सेवा प्रवाह, कृषि तथा पशु प्राविधिक सेवा सडक व्यवस्थापनतर्फ विशेष ध्यान पुर्याउनुपर्ने भन्दै सचेत गराएका थिए ।
जवाफमा पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो कार्यकालको पहिलो बर्ष उत्साहजनक रहेको र शिक्षा, स्वास्थ्य र कृषिलाइ विशेष प्राथमिकतामा राखिएको बताए । गुनासा र प्रश्नको जवाफ दिदै अध्यक्ष पौडेलले पूँजीगत खर्चमा पालिका रुपन्देहीमै अगाडी रहेको स्मरण गराउँदै आम जनतालाई स्थानीय सरकारको अनुभुति गराउने खालका काममा आफू र आफ्नो टीम लागिपरेको बताए । उनले समृद्ध गैडहवाको अभियानलाई सफल पारेरै छाड्ने बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विभिन्न शाखाबाट उत्कृष्ट कार्यसम्पादन भए पनि केहीमा अझै पनि सन्तुष्ट हुने आधार नदेखिएकाले आगामी दिनमा सुधार गर्दै लैजाने बताए ।
कार्यक्रममा पालिकाका १ देखि ९ सम्मका वडाअध्यक्षहरुले पनि सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुको जिज्ञासा मेटाएका थिए । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न स्थानीय नागरिकहरुको पनी दायित्व रहेकोले सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
झण्डै ४ घण्टा चलेको सुनुवाइमा पालिकाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो भने विभिन्न शाखा प्रमुखहरुले पनि उठेका गुनासाहरुको सम्बोधन गरेका थिए ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा पालिकाका प्रवक्ता सुरेन्द्र सिंह कुर्मीको स्वागतमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी गणेश भट्टराईले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij