२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

विभिन्न कार्यक्रम गरी मनाइयो कर्मचारी युनियनको स्थापना दिवस

मंगलवार , भाद्र १९, २०८०

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । कर्मचारी युनियन रुपन्देहीले स्थापना दिवसको अवसरमा तिलोत्तमास्थित मानव सेवा आश्रममा पुगेर खाद्य सामग्री वितरण तथा भोजन सेवा कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । 

    स्थापना दिवसलाई सामाजिक कार्य गरेर मनाउने उद्देश्यसहित खाद्य सामाग्री वितरण तथा भोजन सेवा कार्यक्रम गरी मनाइएको युनियनका अध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए । उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी पूरा गर्दै सामाजिक कार्य पनि गर्दै आएको उल्लेख गरे ।

    अध्यक्ष पाण्डेले सरकारले आज संसद्मा दर्ता गर्न लागेको संघीय निजामती कर्मचारी ऐनमा कर्मचारी युनियनले राखेका माग सम्बोधन नभए पुन आन्दोलनमा उत्रिने जानकारी दिए । 

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सांसद् तथा कांग्रेस नेतृ जमुना ढकालले कर्मचारीले सरकारले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक कार्यान्वयन गर्दै कर्मचारीको हकहितमा लाग्न आग्रह गरिन् । उनले अप्ठ्यारोमा परेका कर्मचारीको हितमा काम गर्दै अन्य सामाजिक कार्यमा लाग्न आग्रह समेत गरिन् । 

    कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, कर्मचारी युनियनका केन्द्रिय सदस्य हरी ज्ञवाली, नविन पन्थी, तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठक, आधिकारिक ट्रेड युनियन रुपन्देही उपाध्यक्ष भोजराज न्यौपाने, स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष घनलाल अर्याल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, मानवसेवा आश्रमकी टिकामाया पुन लगायतले बोल्दै कर्मचारीका उचित मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

    कर्मचारी युनियनका उपाध्यक्ष टेकराज पन्थीको स्वागत तथा सचिव बालकृष्ण कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थापना दिवसको अवसरमा युनियनले दाल, चामल, तेल, सोयाबीन लगायतका खाद्य सामग्री प्रदान गर्नुका साथै मानव सेवा आश्रममा रहेको व्यक्तिलाई भोजनदान समेत गरेको थियो ।