२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उपमेयर कपको उपाधि कुवरवर्तीलाई

आइतवार , माघ ११, २०७७

बुटवल, ११ माघ ।
तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ को उपाधि कुवरवर्ती माविले हात पारेको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आइतबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा एभरेष्ट माविलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 

उपाधिसंगै कुवरवर्ती रनिङ शिल्ड, नगद ५५ हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेष्ट मावि (रातो) भने नगद ३५ हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । एभरेष्ट मावि (सेतो) तृतीय हुँदै नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र तथा न्यु होराइजन मावि सान्त्वना हुँदै नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । 

त्यसै गरि प्रतियोगितामा विधागत रुपमा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट कुवरवर्तीकी भावना डागी घोषित हँुदै नगद ३ हजार, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा बेष्ट स्पाईकर कुवरवर्तीकी शर्मिला नेपाली, बेष्ट सटर एभरेष्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेष्टकी निर्भा सारु, बेष्ट डिफेन्स कुवरवर्तीकी मोनिका विष्ट, बेष्ट ब्लकर एभरेष्टकी बबिता बि.सी., नव उदयमान सिद्धार्थकी एलिना चौधरी, बेष्ट डिसिप्लिन अफ टुर्नामेन्ट न्यु होराईजनकी रश्मि पुन, उत्कृष्ट प्रशिक्षक कुवरवर्तीका मिलन राना घोषित हुँदै पुरस्कृत भए । 

एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, क्लबका संरक्षक सुरेन्द्र गरुङले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।