
सोमवार , माघ १२, २०७७
भैरहवा, १२ माघ ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देही र भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले अनाथ आश्रमलाई सहयोग गरेको छ । दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रमलाई ६९ हजार रुपैयाँ प्रदान गरिएको हो ।
भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देही र भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीको संयुक्त आयोजनामा सोमबार आश्रममा भएको कार्यक्रममा आश्रमका पूर्व अध्यक्ष कमल रेग्मीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमले भन्सार प्रशासन र भन्सार एजेण्ट सीमामा मात्रै सीमित छैनन् भन्ने कुरा देखाएको बताए ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै भन्सार एजेण्टको भुमिका महत्वपूर्ण रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले आगामी दिनमा पनि यस्ता पुनित कार्यलाई निरन्तरता दिन आग्रह गरे । लुम्बिनी प्रेस क्लब रुपन्देहीका निवर्तमान अध्यक्ष दिपेश पछाईले भन्सार एजेण्ट संघले राम्रो स्थान छनोट गरेर कार्यक्रम आयोजना गरेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले कोभिड–१९ को बेला पनि आपूर्ति सेवा अवरुद्ध नभएकोले भन्सार एजेण्टको महत्वपूर्ण भुमिका रहेको बताए । आश्रमका पूर्व अध्यक्ष कमल रेग्मीले आश्रममा हाल २२ जना बालबालिका आश्रित रहेको बताए ।
भन्सार एजेण्ट संघका अध्यक्ष असिम न्यौपानेको अध्यक्षता, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद घिमिरेको स्वागत तथा उपाध्यक्ष मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बालबालिकालाई स्टेशनरी सामाग्री समेत प्रदान गरिएको थियो ।
६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको भन्सार एजेण्ट संघ सिद्धार्थनगरका सदस्य देवराज न्यौपानेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij