२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सवारी दुर्घटना न्यूनीकरणमा जोड

मंगलवार , माघ १३, २०७७

बुटवल, १३ माघ ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४४ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कोषका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा मगरले दुर्घटना न्युनीकरण र दुर्घटनापछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘दुर्घटना न्युनीकरण र क्षतिपुर्तिको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ’-थापाले भने । उनले बढ्दो दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि यातायात सम्बद्ध संस्थाहरुलाई आग्रह गरे ।

थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले चालक होसियार भए दुर्घटना न्यूनिकरणमा ७५ प्रतिशतले कमी आउने दावी गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताए । कोभिड–१९ को प्रत्यक्ष मारमा यातायात क्षेत्र परेको र मजदूरहरु यसबाट बढी प्रभावित भएको भन्दै उनले सवारी दुर्घटना पश्चात घाइतेहरुलाई महंगा अस्पतालहरुमा उपचार गराउन लैजाने प्रवृत्तिले कोषले ठूलो आर्थिक लगानी गर्नुपरेको बताए ।

विगतमा कोषमा आवद्ध नभएका सवारीसाधनहरु पछिल्ला दिनमा आवद्ध हुँदै गएको र यो कोषको लागि महत्वपूर्ण अवसर रहेको भन्दै अध्यक्ष फुल्लेलले कोषबाट ई–सेवामार्फत पनि सेवा उपलव्ध गराउन पहल भइरहेको जानकारी दिए ।

कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले कोभिड–१९ का बाबजुद संस्थाले हासिल गरेको सफलताले आगामी दिन झनै सहज हुने विश्वास व्यक्त गरे । कोषका पूर्व अध्यक्ष चिनबहादुर गुरुङले यातायात व्यवसायी र मजदूरको मात्र नभएर यात्रुहरुको सुरक्षामा पनि कोषले महत्वपूर्ण भूमिका खेलेको दावी गरे ।

साधारणसभाले अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । त्यस अवसरमा निवर्तमान कार्यालय प्रमुख हेमन्त थापा, कुशल चालक दामोदर बस्याल र सोमप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष छविलाल थापा, सचिव प्रकाश नेपाल, पुर्व उपाध्यक्ष कृष्णप्रसाद बेलबासे, कोषाध्यक्ष वृजेश न्यौपानेलगायतले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।