
आइतवार , आश्विन ७, २०८०
भैरहवा, ७ असोज ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाले यही असोज २७ गते शनिबार संयुक्त रुपमा ‘रोटरी हाफ म्याराथन–२०२३’ प्रतियोगिता आयोजना गर्ने भएका छन् । आयोजकले भैरहवामा पत्रकार सम्मेलन प्रतियोगिताबारे जानकारी गराएका छन् ।
रोटरी क्लब अफ भैरहवाले स्थापनाकालदेखि पोलियो दिवसको दिन गर्ने गरी सुरु गरेको रोटरी हाफ म्याराथन प्रतियोगितालाई निरन्तरता दिदै यस वर्ष पनि आयोजना गरिएको कार्यक्रम संयोजक तथा रोटरी डिष्ट्रिक ३२९२ नेपाल, भुटानका पब्लिक ईमेज चेयर राज कुमार गुप्ताले बताए ।
विश्वबाट पोलियो उन्मुलन गर्न रोटरी इन्टरनेशनले विशेष भूमिका निर्वाह गरेकोले खेलको माध्यमबाट पोलियोविरुद्ध जनचेतना जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न गरिएको गुप्ताले बताए । हरेकपटक गर्ने म्याराथनमा राष्ट्रिय धावक तथा ओलम्पियन बैंकुण्ठ मानन्धरको उपस्थिति हुँदै आएको उनले बताए ।
गुप्ताका अनुसार प्रतियोगितामा नेपालभरीका धावकहहरुले भाग लिनेछन् । हाफ म्याराथन भैरहवाको लुम्बिनी गेटबाट सुरु भइ नगरका विभिन्न भागका परिक्रमा गरी २१ दशमलव १ किलोमिटरको दुरी पार गरेर भैरहवाको विद्रोही चोकस्थित सानु डिपार्टमेन्टल स्टोरमा पुगेर समापन हुने उनले बताए ।
म्याराथनमा प्रथम हुनेलाई रु. १ लाख, द्वितीय हुनेलाई रु. ७५ हजार, तृतीय हुनेलाई रु. ५० हजार तथा सान्त्वना हुने २ जना पुरुष र २ जना महिलालाई रु. ५ हजार १ पुरस्कारसहित मेडलको व्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा ‘इन्ट्री फी’ निःशुल्क रहेको उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेका छन् ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत तथा रोटरी क्लब अफ भैरहवाका अध्यक्ष उमेशचन्द्र आचार्यको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय धावक तथा ओलम्पियन बैंकुण्ठ मानन्धर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष राम बहादुर कोइरीलगायतले बोल्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij