
सोमवार , आश्विन ८, २०८०
भैरहवा, ८ असोज ।
बेलहिया गाउँ समाज सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्देहीको वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा सुमित प्रधान विजयी भएका छन् ।
१७३ मत प्राप्त गरी प्रधान अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी अध्यक्षका अर्का उम्मेदवार नर्जुन गुरुङले १३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा सुमन कुमार शर्मा १८३ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लक्ष्मण सुनारले ११६ मत प्राप्त गरेका छन् ।
त्यसै गरी सचिवमा माधव शर्मा १ मतले पराजित भएका छन् । सचिवमा १४८ मत प्राप्त गरी नरेश अधिकारी विजयी भएका छन् भने शर्माले १४७ मत ल्याएका छन् ।
कुल ३७० मतदातामध्ये ३१४ जनाले आइतबार मतदान गरेको गिरीले जानकारी दिए । श्री बेलहिया माध्यमिक विद्यालयमा मतदान भएको थियो ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको र अन्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन आयुक्त अर्जुन कुमार गिरीका अनुसार बेलहिया गाउँ समाजको कोषाध्यक्षमा राकेश गुरुङ, सह–सचिवमा भरत थापा, सदस्यहरुमा विक्रम गुरुङ, सन्तोष बराल, धर्मदत्त पौडेल र मनोज कुमार जैसवाल निर्विरोध निर्वाचित भएका छन् ।
बेलहिया गाउँ समाजको अध्यक्षमा विजयी प्रधान गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यस्तै समाजको अध्यक्षमा पराजित गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij