२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोटहीमाई गाउँपालिका : आयुर्वेद सेवामा रुपन्देहीमा उत्कृष्ट

सोमवार , आश्विन ८, २०८०

भैरहवा, ८ असोज ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आयुर्वेद सेवामा जिल्लामै उत्कृष्ट आएको छ । आर्थिक वर्ष २०७९/०८० मा जिल्लाको ६ वटा स्थानीय तहहरुमा रहेको आयुर्वेद औषधालयहरुमध्ये मझगावाँ आयुर्वेद औषधालयले उत्कृष्ट सेवा दिएको भन्दै आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी आयुर्वेद औषधालय बुटवलले उत्कृष्ट सेवाबाट सम्मानित गरेको हो ।

निर्धारित मापदण्डहरुको मूल्यांकन गर्दा कोटहीमाई गाउँपालिकामा रहेको मझगावाँ आयुर्वेद औषधालय अधिक मापदण्डहरु पूरा गरी राम्रो सेवा दिएकोले रुपन्देही जिल्लामा उत्कृष्ट औषधालयको रुपमा पुरस्कृत गरिएको लुम्बिनी आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. प्रवेश श्रीवास्तवले बताए ।

उनले भने, ‘औषधालयको व्यवस्थापन, रिपोर्टिङ्ग, सेवा, स्थानीयमा आयुर्वेद सेवाको पहुँच, प्रदेश र स्थानीयसँग समन्वय, सेवाको ग्राहयता लगायत विभिन्न मापदण्ड निर्धाण गरिएको हुन्छ जसमा मझगावाँ आयुर्वेद औषधालयले अधिकतम पुरा गरेको छ । जसले जिल्लामै उत्कृष्ट आयुर्वेद औषधालयको रुपमा पुरस्कृत गरिएको हो । ’ 

रुपन्देहीमा रहेको कोटहीमाई, मायादेवी, गैडहवा, शुद्धोधन र कञ्चन गाउँपालिका र तिलोत्तमा नगरपालिका गरी ६ वटामध्ये कोटहीमाई गाउँपालिकामा रहेको उक्त आयुर्वेद औषधालय उत्कृष्ट रहेको उनले बताए । रुपन्देहीमा ६ वटा आयुर्वेद औषधालय र ४ वटा नागरिक आरोग्य केन्द्र रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० मा मझगावाँ आयुर्वेद औषधालयबाट ६ हजार ९ सय ३४ जनालाई बहिरंग सेवा, १ हजार २ सय ९३ जनालाई ज्येष्ठ नागरिक सेवा, ४ सय १४ जनालाई स्तनपायी सेवा, १ हजार ९ सय ३५ जनालाई पंचकर्म सेवा, १ सय १४ जनालई विद्यालय आयुर्वेद सेवा, २८ जना नागरिक आरोग्य कार्यक्रम सेवा र १ सय ९६ जनालाई योग सेवा दिएको कोटहीमाई गाउँपालिका आयुर्वेद शाखा प्रमुख मन्जु सुवेदीले जानकारी दिइन् ।

मझगावाँ आयुर्वेद औषधालय जिल्लामा उत्कृष्ट हुनुमा जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा स्थानीयको प्रत्यक्ष सहयोग रहेको सुवेदीले बताइन् ।