
बिहिवार , आश्विन ११, २०८०
भैरहवा, ११ असोज ।
रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरेको आवासको गाउँपालिकाले हस्तान्तरण समेत गरेको छ । सियारी गाउँपालिकाभित्रका अतिविपन्नमध्येका १४ परिवारको पहिचान गरी निर्माण गरिएको आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा २ घरपरिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैयाँ र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैयाँसहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाँको लागत सहभागीतामा घर निर्माण गरिएको सियारी गाउँपालिकाका योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए ।
पालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरेको आवासलाई सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र वडा नम्बर ४ का वडा अध्यक्ष श्रीराम यादव, ६ का शेर बहादुर गुरुङ र ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले सम्बन्धीत घरधनीलाई घर हस्तान्त्रण गरेका छन् ।
उक्त घरमा दुईवटा कोठा, एउटा भान्सा, एउटा सानो बरण्डा र शौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुईने छानोमुनी बस्दै आएका ती परिवारले पक्की घर पाएपछि खुशीले दंग परेका छन् ।
सियारी–५ की चन्मति थारुले पक्की घर पाएपछि आफूहरुलाई बस्न, बालबच्चालाई पढाउन सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिइन् । उनले यसअघि आफूहरु माटो गारो र खपटाको चुईने छतमुनी बसेर गुजारा चलाउँदै आएको बताइन् ।
सियारी गाँउपालिकाले निर्माण गरी हस्तान्तरण गरेका ती घरलाई पालिकाको सहमति विना विक्रीवितरण गर्न नमिल्ने गरी आवश्यक कार्यविधि बनाउन लागिएको गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले अतिविपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई विक्रीवितरण गर्न दिए अनुदानको दुरुपयोग हुने हुँदा यसलाई विक्रीवितरणमा रोक लगाउने गरी कार्यविधि बनाउन लागिएको बताए ।
सियारीले नयाँ जनप्रतिनिधि आएपछि सुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक वर्षमा निरन्तरता दिने गरी बजेटको विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिइन् । उनले गास, बास र कपासको अभाव भएका अतिविपन्न परिवारलाई आवास तयार गरी हस्तान्त्रण गरिएको बताउँदै संरक्षणमा ध्यान दिन आग्रह गरिन् ।
जनताको नजिकको सरकारको रुपमा रहेका स्थानीय पालिकाहरुले यस्तै खालको जनताले अपनत्व पाउने खालका कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमले सरकार र नागरिकबीचको सम्बन्ध थप बलियो बन्न टेवा पुग्ने समेत देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij