
आइतवार , आश्विन १४, २०८०
भैरहवा, १४ असोज ।
‘प्रमुख अतिथि बन्ने अवसर मिल्यो, दीप प्रज्वलन गरे । सभ्य भव्य सहभागीताको अगाडि मन्तव्य राखे । यो भूमिकाले मेरो आत्मविश्वास बढ्यो । अब म जुनसुकै बोल्ने मंचमा निर्धक्क आफ्नो विचार राख्न सक्छु, ’८८औ लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमका प्रमुख अतिथि युवा उद्यमी विशाल जयसवालले खुशी हुँदै भने ।
उनले भने, ‘यो तालिममा प्रशिक्षार्थीहरु मध्येबाट हरेक हप्ता विभिन्न भूमिका निर्वाह गर्ने अवसर मिल्छ, यस्तो अवसर प्रदान गर्ने अर्को कुनै मंच पाउन सजिलो छैन । यो तालिम नियमित हुनुपर्छ । उनले तालिमलाइ नियमित गर्न जुनसुकै सहयोग गर्ने पनि बताए । जयसवाल सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य हुन् ।
कार्यक्रमका अध्यक्ष खाद्यान्न व्यवसायी प्रकाश रेग्मीले पनि खुशी व्यक्त गर्दै भने, ‘मैले सपनामा पनि सोचेको थिइन भव्य कार्यक्रमको अध्यक्ष बनेर धन्यवाद दिने मौका मिल्छ तर, अहिले अध्यक्षको भूमिका निर्वाह गर्दैछु र भाषण गर्दैछु, सबैलाई धन्यवाद ।’
पहिलोपटक कार्यक्रम सञ्चालन गरेकी नुमा ज्ञवालीले उनी संग्लग्न एक लायन्स क्लबको सचिव बन्ने हिम्मत आएको बताइन् । उनले भनिन, ‘गत वर्ष बोल्नुपर्छ भनेर हिम्मत गरिन, आजको तालिमको कार्यक्रम सञ्चालक बनेपछि मेरो आत्मविश्वास बढेको छ । म मा बोल्ने क्षमताको विजारोपण भएको छ । ’
तालिमका सदस्य पुरुषोतम लम्सालले कार्यक्रमको संयोजन गरेका थिए । उपस्थित सम्पुर्णलाई तालिममा स्वागत गर्दै उनले भने। ‘यो तालिम बोल्न सिकाउने मात्र होइन यसले जीवन जिउने कला पनि सिकाउँछ ।’
तालिममा आफ्ना जीवनका घटना साट्ने कार्यक्रम पनि हुन्छ । अवकाशप्राप्त प्रहरी तथा सामाजिक अगुवा रामबहादुर थापा, व्यवसायी रमेश क्षेत्री, उद्यमी अनुपम गुप्ता तथा व्यवसायी जित प्रसाद कर्माचार्यले आ–आफ्नो जीवनका उत्प्रेरित कथा प्रस्तुत गरेका थिए । प्रस्तुतिमाथि पर्यटन व्यवसायी संजीव जोशीले टिप्पणी गरेको तालिम व्यस्थापन समितिका सदस्य विरेन्द्र ज्ञवालीले बताए ।
लिडरसीप स्किल्स डेभलपमेन्ट तालिममा सहभागी हुन् कुनै शुल्क तिर्नुपर्दैन तर इच्छुकले योगदान गर्दछन् । ८८ औ श्रृंखलाको निम्ति सामाजिक अगुवा तथा तालिमका सहभागी माया कंडेलले सौजन्य गरी योगदान गरेको तालिम व्यवस्थापन समितिका सदस्य त्रिलोकी तेलीले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघमा सञ्चालन हुँदै आएको यो तालिम अहिले भैरहवास्थित एसियन बुद्ध होटलमा विभिन्न पेशाका व्यक्तिहरुबीच सञ्चालन हुँदै आएको व्यवसायी तथा सामाजिक अगुवा गोपाल भण्डारीले जानकारी दिए । तालिमको संस्थापक तथा प्रस्तोता उत्प्रेरक विजय पाण्डे रहेका छन् । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव पनि हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij