
बिहिवार , माघ १५, २०७७
भैरहवा, १५ माघ ।
भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार काशी नोबल एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ४ विकेट तथा न्यू होराइजनले पोखरा क्रिकेट एकेडेमीलाई २० रनले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित २५ ओभरमा २४ ओभर खेल्दै अलआउट भई ११६ रनको योगफल बनाएको थियो । उसका लागि शैलेन्द्र यादवले २२ र सचिन अर्यालले १६ रन बनाए । बलिङमा काशीका सन्तोष यादवले ३ र सेजद आलमले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको काशीले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ११७ रन बनाई लक्ष पूरा गर्यो । उसका लागि मंदीप खत्रीले २५, सन्तोष अधिकारीले १८ र सन्देश जिसीले १३ रन बनाए । बलिङमा साई ग्लोबलका कम्रोन खाँन र सचिन अर्यालले २÷२ विकेट लिए । सन्तोष यादव म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होरोइजनले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा १३६ रन बनायो । जसमा अजाजुल हकले ४१ र अनिल थापाले ३६ रन बनाए । बलिङमा पोखराका रोशन न्यौपानेले र प्रमोद बास्तोलाले ३÷३ विकेट लिए ।
जवाफमा पोखरा ५ विकेट गुमाई ११६ रनमै समेटियो । उसका लागि रोशन न्यौपानेले ५३ र सोहेल कुँवरले २३ रन बनाए । बलिङमा होराइजनका मोहम्मद समिरले २ तथा निश्चल पराजुलीले १ विकेट लिए । खेलमा अजाजुल हक म्यान अफ द म्याच भए ।
शुक्रबार साई ग्लोबल र स्टार क्रिकेट एकेडेमी तथा ओषिस क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ । ८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछन् भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
प्रतियोगिता पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा भएको छ । शक्तिले आफ्ना बुवाको स्मृतिमा विगत तीन वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij