
बिहिवार , आश्विन १८, २०८०
भैरहवा, १८ असोज ।
निजामती सेवा विधेयक २०८० मा स्थानीय सेवा कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषय स्पष्ट नभएको भन्दै देशभरी आन्दोलित रहेका स्थानीय तहका कर्मचारीसँग ऐक्यद्वता जनाउँदै रुपन्देहीको कोटहीमाई गाउँपालिकाका कर्मचारीहरुले शुक्रबारदेखि पेनडाउन गर्ने भएका छन् । बिहीबार कोटहीमाई गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत गोविन्द भट्टराईलाई जानकारी तथा सहजीकरण पत्र बुझाउँदै माग पूरा नभएसम्म पेनडाउन गर्ने स्थानीय तह कर्मचारी संघ समिति कोटहीमाईका संयोजक मनोहर चौधरीले बताए ।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २१ गतेको बैठकबाट संघीय निजामति सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको बताउँदै सो विधेयकमा स्थानीय सेवा कर्मचारीहरुको सेवा सुरक्षा लगायतका स्पष्ट नभएको संयोजक चौधरीले बताए ।
सेवा सुरक्षा सम्बन्धि विषयलाई समावेश गरी मात्र निजामती सेवा ऐन जारी गर्न स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले ‘प्रशासनिक संघीयता पूर्ण कार्यन्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार’ भन्ने नाराका साथ केन्द्रदेखि स्थानीय तहसम्म दबाबमूलक आन्दोलन गरिरहेको उनले बताए ।
दबाबमूलक विभिन्न कार्यक्रम अन्तर्गत १९ गतेदेखि देशभरीको हरेक स्थानीय तहमा अति अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरी माग पूरा नभएसम्म पेनडाउन गर्ने निर्णय गरिएको संयोजक चौधरीले बताए ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले राखेको २० बुँदे माग पूरा नभएसम्म पे डाउन जारी राख्ने संयोजक चौधरीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij