
शुक्रवार , आश्विन १९, २०८०
भैरहवा, १९ असोज । संघीय निजामति एनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने लगाएतका १० बुदे माग राख्दै रुपन्देहीको सियारी गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले माग सम्बोधनको माग गर्दै आज पेनडाउन गरेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल एकिकृत कर्मचारी ऐन जारी गर्न दबाबमूलक कार्यक्रम गरिरहेको र सोही क्रममा शुक्रबार पेनडाउन गरिएको संघर्ष समिमिका संयोजक बिवेक आर्चायले जानकारी दिए ।
केन्द्रीय कार्यतालिका बमोजिम सियारी गाउँपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरुद्वारा अत्यावश्यक सेवाबाहेकमा पेनडाउन गरिएको आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ स्थानीय तहमा स्वचालित वैज्ञानिक पुर्वानुमानयोग्य र चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, स्थानीय तहका कर्मचारीहरुको समान वृति विकासको व्यवस्था गरिनुपर्ने, कर्मचारीलाई टे«ड युनियनको अधिकार प्रदान गरिनुपर्ने, स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई निजामति सेवामा समावेश गरिनुपर्ने लगायतका माग राख्दै कर्मचारी आन्दोलित भएका छन् ।
संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म पेनडाउन गर्ने र कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाउन माग गर्दै कर्मचारीहरुले गाउँपालिका उपाध्यक्ष तारा थारु र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीलाई पत्र बुझाएका छन् ।
कर्मचारीको पेनडाउनका कारण शुक्रबार गाउँपालिका कार्यालयको अत्याबश्यक सेवा बाहेकको सेवा अवरुद्ध भएको थियो । कर्मचारीहरुले हातमा कालाे पट्टी बाधेर आफुहरुका मागहरु सम्बोधन माग गर्दै नारावाजी समेत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij