२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

नेपालमा नयाँ ढंगको धुव्रिकरण आवश्यक : नेता खनाल 

आइतवार , आश्विन २१, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा नयाँ ढंगको धुव्रिकरणको आवश्यकता रहेको बताएका छन् ।  

    पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले वर्तमान पूँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ धु्रवीकरणको आवश्यकता रहेकोमा जोड दिए ।   

    पार्टीको मेची–महाकाली समाजवादी यात्राको क्रममा आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पूँजीवादीलाई मात्र संरक्षण गरेको बताए ।

    उनले व्यवस्था फेरिए पनि त्यो व्यवस्था अनुसार जनताको जीवनस्तरको अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पूँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने बताए।

    नेता खनालले तीनवटै सरकारले जनताको काम गर्न नसकेको बताए । मुलुकमा आर्थिक, सामाजिक र साँस्कृतिक संकट गहिरदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निराशालाई कम गर्न मद्दत गरेको बताए । 

    त्यस्तै एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची–महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट सुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ६ सय किलोमिटर यात्रा गरेको बताए । यसबीचमा आफूहरुले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सृजना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा सरकारसँग निरन्तर लड्ने बताएको जानकारी दिए । नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानुपर्नेमा जोड दिए।