
शुक्रवार , माघ १६, २०७७
भैरहवा, १६ माघ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा हुने राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारिएको छ । यही फागुन २१ र २२ गते बुटवलमा हुने सम्मेलनको तयारीका सन्र्दभमा छलफल गर्न शुक्रबार संघको रुपन्देही शाखाको बैठक बसेको छ । संघका रुपन्देही अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि रुपन्देही शाखाले आतिथ्यता गर्ने र संघका सदस्यहरुलाई थप क्रियाशिल बनाउने निर्णय गरेको सचिव सुरेश परियारले जानकारी दिए ।
बैठकमा संस्थाका उपाध्यक्ष शशि परियार, कोषाध्यक्ष कृष्ण रणपाल, सदस्यहरु भरत नेपाली, सिता दर्नाल र प्रमोद नेपाललीले बोल्दै सम्मेलन सम्पन्न गर्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनीहरुरुले राष्ट्रिय सम्मेलन बुटवलमा हुनु संघको रुपन्देही शाखाका लागि अवसर र चुनौती दुवै भएकाले आर्थिक व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा संस्थाका सचिव सुरेश परियार रेडियो सैनामैना ९१ मेगाहर्जको स्टेशन म्यानेजर नियुक्त भएकोमा खादा ओढाएर कार्य सफलताको शुभकामना प्रदान गरिएको थियो । सचिव परियारलाई शुभकामना दिदै अध्यक्ष टंक सुनारले रेडियोको माध्यमबाट दलित समुदाय लगायत पछाडी पारिएका समुदायको उत्थानमा विशेष भुमिका खेल्न आग्रह गरे ।
रुपन्देहीका सञ्चार माध्यमहरुमा व्यवस्थापन र सम्पादन तहमा दलित समुदायको उपस्थिति ज्यादै न्यून रहेको उल्लेख गर्दै दलित समुदायको कार्यक्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा जोड दिए । संघको राष्ट्रिय सम्मेलनमा देशभरबाट करिब २ सय दलित समुदायका पत्रकारहरुलाई बुटवलमा उतार्ने संघको तयारी रहेको छ । सम्मेलनको तयारीका लागि संघका केन्द्रिय सदस्य रीता बुढाथोकीको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति गठन भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij