
शनिवार , माघ १७, २०७७
तिलोत्तमा, १७ माघ ।
तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुंगानाको स्मृतिमा तिलोत्तमा नगरपालिकामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा आगामी फागुन ८ गतेदेखि प्रथम सर्वोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको हो ।
सुनिल ढुंगानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेको प्रतियोगिता रुपन्देहीको तिलोत्तमामा–६ मा अवस्थित नवजीवन खेल मैदानमा हुने आयोजकले शनिबार मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारि गराएका हुन् ।
सर्वोत्तम सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा देशभरका टिमको सहभागिता रहने आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक भुर्तेलले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एक लाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
त्यसै गरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ताका आगामी फागुन ५ गतेसम्मको म्याद राखिएको र दर्ता शुल्क १० हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएका छन ।
स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षयकोषको रकमबाट तिलोत्तमा नगरभित्रका विद्यालयस्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएका छन् । पहिलो वर्ष प्रतियोगिताबाट ५० हजार तथा अन्य स्रोतबाट ५० हजार गरी लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने र आगामी ४ वर्षभित्र कोषको रकम ५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक सर्वोत्तम सिमेन्टका रिजनल मार्केटिङ म्यानेजर रमेश ढकालले निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
त्यसै गरी रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, नगर खेलकुद विकास समितिका राजेन्द्र गुरुङ तथा राष्ट्रिय कोच शंकर राना लगायतले कार्यक्रम सफलताको कामना गरे । प्रतियोगिता आयोजनाका लागि साढे ८ लाख खर्च हुने अनुमान गरिएको छ ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता र संस्थाका प्रेस सल्लाहकार बाबुराम गैरेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सह–सचिव मिलन भण्डारीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij