
सोमवार , आश्विन २९, २०८०
भैरहवा, २९ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरुले जसपा समावेशीताको अनुपम नमूना बोकेको पार्टी भएको दावी गरेका छन् । उनीहरुले जसपाकै एजेण्डामा देश चलिरहेको बताए ।
जसपा नेपालको संगठन विस्तार तथा सुदृढीकरण अभियान समुद्घाटन एवं बडादशैं, तिहार एवं छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरुले जसपाले सम्पूर्ण समुदायको अधिकारका लागि संघर्ष गर्दै आएको बताए ।
जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै पार्टीका राजनीतिक समिति सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले जसपा समावेशीता र लोकतन्त्रको जननी भएको बताए । उनले प्रदेश सांसद्लाई अधिकार दिन माग गरे । उनले भने, ‘संघीयताको भावना र मर्म भर्तीकेन्द्र होइन, जनतालाई अधिकार दिनु हो । प्रदेशलाई पूर्ण कार्यकारी अधिकार दिनुपर्छ । ’ उनले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार बढेको बताए ।
पार्टीका राजनीतिक समिति सदस्य मनिकर कार्कीले रुपन्देहीसहित लुम्बिनी प्रदेशमा जसपाको संगठन विस्तार तथा सुदृढीकरण अभियान सुरु भएको बताए । उनले यो अभियानले पार्टीको उद्देश्य हासिल गर्ने दिशातर्फ लैजाने बताए । उनले भने, ‘गतिविधि भन्दा नतिजा आधारित कार्यक्रम गर्नुपर्छ । एक–अर्कालाई सम्मान गर्नुपर्छ । जसपा समावेशीताको अनुपम नमूना बोकेको पार्टी हो ।’
जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले अब लुम्बिनी प्रदेश जसपामय बन्ने दावी गरे । उनले नेताले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । नेता यादवले राजनीतिमा इमान्दारिता र अनुशासन आवश्यक रहेकोमा जोड दिए । उनले जसपाको विकल्प नभएको दावी गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले जसपाकै एजेण्डामा मुलुक चलिरहेको दावी गरे । उनले कार्तिक १५ गतेभित्र कार्ययोजना बनाएर प्रदेश समिति सदस्यहरुलाई स्थानीय तहमा पठाइने बताए ।
पार्टीका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, रेनु चौधरी, रीता यादव, लुम्बिनी प्रदेश उपाध्यक्ष राम अवतार यादव, डा. अब्दुल रसिद, प्रदेश सदस्य गोविन्द यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष विकास यादव, समाजवादी विद्यार्थी संघ केन्द्रीय सचिव राहुल यादव, रुपन्देही जिल्ला अध्यक्ष विरेन्द्र यादव, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति (महाकाल) लगायतले बोल्दै जसपा जनताको रोजाइको पार्टी भएको बताए ।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, राजनीतिक समिति सदस्य नविन सुनुवारको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष नवलकिशोर सिंहको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij