२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थनगरमा सुत्केरी आमाहरुसंग नगर उप-प्रमुखको कोशेली भेट कार्यक्रम

आइतवार , माघ १८, २०७७

भैरहवा, १८ माघ । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम ल्याएको छ । सुत्केरी आमा तथा शिशुको पोषणसम्बन्धि सचेतना अभिवृद्धि गरी आमातथा बच्चाको पोषण स्थिति तथा स्वास्थ्यलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बताइन् । 

कार्यक्रमको लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट छुट्याइएको र कार्यक्रमको लागि लक्षित जनसंख्या १ हजार ६ सय ९१ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

सुत्केरी आमाहरुसंग शुभकामना सन्देशसहित नगर उपप्रमुखको कोशेली भेट कार्यक्रममा सन्देशमुलक शुभकामना कार्ड, घ्यु १ के.जी., च्वनप्राश आधा के.जी., खजुर ३ सय ग्राम, मह आधा के.जी.सहित आइरन चक्की, क्याल्सियम, भिटामिन ए पनि वितरण गरिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमादेवी थापाले बताइन् । स्वास्थ्य शाखा प्रमुख थापाका अनुसार कार्यक्रमको छनौटको मापदण्ड समेत तोकिएको छ ।

‘यो कार्यक्रममा सहभागि हुन नेपाली नागरिक हुनुपर्ने, शिशुको जन्म दर्ता हुनुपर्ने, ४५ दिनभित्रका सुत्केरी आमा (२०७७ कार्तिक १ देखि सुत्केरी आमाहरुलाई समेटिने), अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी भएको प्रमाण हुनुपर्ने, नेपाल सरकारबाट सुत्केरी सुविधा प्राप्त नगरेका सुत्केरी आमाहरु समक्ष मात्र यो कार्यक्रम पुर्याइने र सिद्धार्थनगर नगरपालिकाभित्र स्थायी रुपले बसोबास गर्दै आइरहेको हुनुपर्नेछ, ’थापाले भनिन् ।