
सोमवार , आश्विन २९, २०८०
भैरहवा, २९ असोज ।
विभिन्न ८ बुँदे माग राख्दै समाजवादी मोर्चा नेपाल रुपन्देहीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार भैरहवास्थित जिल्ला प्रशासन कार्यालय पुगेर मोर्चाले ध्यानाकर्षण पत्र बुझाएको हो ।
दशैं, तिहार नजिकिदै गर्दा दैनिक उपभोग्य लगायतका वस्तुमा चर्को मूल्यवृद्धि, कालोबजारी, तस्करी भइरहेको साथै बजारमा मिसावट एवं अखाद्य वस्तुहरुको विक्रीवितरण बढ्दो रहेकाले समयमै बजार अनुगमन गरी यसलाई नियन्त्रण गर्नुपर्ने, सीमा नाकामा भइरहेको चोरी, तस्करी र कर छली गर्नेलाई नियन्त्रण गरी संलग्नलाई कारवाही गर्नुपर्ने र देशमा आर्थिक संकटले कयौं व्यवसाय धरासायी भइरहेको अवस्थामा बैंकको चर्को ब्याज तथा लघु वित्तीय आतंकका विषयमा अनुगमन गरी राष्ट्र बैंकको नियमविपरीत ब्याज लिनेलाई कारवाही गर्नुपर्ने मोर्चाले माग गरेको छ ।
त्यस्तै सरकारी कार्यालय, स्थानीय निकाय तथा सामाजिक संघ–संस्थामा भएका भ्रष्टाचार अनियमिततालाई नियन्त्रण गर्न पहल गर्नुपर्ने, सरकारी निकायबाट सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य गरी सेवा प्रवाह छिटोछरितो र प्रभावकरी ढंगले गर्नुपर्ने, राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयं राज्य धर्मको विषयमा तटस्थ रहज नै धर्मनिरपेक्षताको सिद्वान्तको विकास भएको तर नेपालमा पछिल्लो समय योजनाबद्ध ढंगबाट गरिएको जातीय र धार्मिक आन्दोलनले देशलाई अराजकता र द्वन्द्वतिर धकेल्जे भएकाले सद्भावको लागि समयमै पहल लिने काम गर्नुपर्ने मोर्चाको माग छ ।
त्यसै गरी लघुवित्तीय चर्को ब्याज आतंकको प्रभावकारी अनुगमन गरी कानूनी दायरामा ल्याई साहुकारहरुलाई कारवाही गर्नुपर्ने, सहकारीको रकम अपचलन गर्नेमाथि कडा कारवाही गर्नुपर्ने तथा नेपालमा निषेध गरिएका विषादी वस्तुको परीक्षण बिना सीमा क्षेत्रबाट तरकारी, मासुजन्य र कृषिजन्य लगायतका वस्तुहरुको तस्कारीले नेपाली किसानले उब्जाएको तरकारी, फलफूलका लागि उचित बजार र मूल्य पाउन नसकेकाले यसलाई तत्काल अनुगमन गरी तस्करी र कालोबजारी गर्नेलाई कारवाही गर्नुपर्ने ध्यानाकर्षणपत्रमार्फत माग गरिएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij