२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक : कैलाश महतो

आइतवार , कार्तिक १२, २०८०

भैरहवा, १२ कार्तिक ।
स्वाधिन मधेश जनअभियानका संयोजक कैलाश महतोले नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

भोला बानियाद्वारा लिखित पुस्तक ‘पश्चिम मधेश दर्पण’ को शनिबार भैरहवामा आयोजित विमोचन कार्यक्रममा संयोजक महतोले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा व्यक्ति नभइ पार्टी उम्मेदवार भएकाले पैसा पनि खर्च नहुने बताए । उनले मिश्रित निर्वाचन प्रणाली राजनीतिको स्वास्थ्यका लागि हानिकारक भएको बताए ।

उनले भने, ‘आफ्नो अवसरका लागि मन र दल बदल्ने कार्य भइरहेको छ । सुरक्षा र अस्तित्वका लागि लडाइ हुन्छ । इजरायल आफ्नो अस्तित्वका लागि लडिरहेको छ । ’

संयोजक महतोले मुलुकमा समतामूलक समाजको निर्माण गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘समतामूलक समाजका लागि अलग ढंगले शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ । ’ उनले ‘पश्चिम मधेश दर्पण’ पुस्तकले मधेशलाई चित्रण गरेको भन्दै लेखक भोला बानियालाई धन्यवाद दिए ।