
सोमवार , कार्तिक १३, २०८०
भैरहवा, १३ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)ले नेपालका खेलाडीले देशलाई विश्वभरी चिनाउन सफल भएको बताए । उनले नेपाललाई विश्वमै चिनाउने काम गर्ने खेलाडीलाई लुम्बिनी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गर्ने बताए ।
बंगलादेशमा अक्टोबर १९ देखि २१ तारिखसम्म सम्पन्न ‘प्रथम बंगाबन्धु खुल्ला इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीप–२०२३’ मा स्वर्ण पदकसहित उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल मोहम्मद रफीकलाई आइतबार भैरहवामा आयोजित सम्मान कार्यक्रममा मन्त्री गुप्ताले भने, ‘प्रदेश सरकार खेलाडीको साथमा छ । मन्त्रीपरिषद् गठन हुने बेलामा क्रिकेट खेलाडीको सम्मान गर्न लागि रकम छुट्याइएको थियो । ’
प्रदेश सरकारले खेलकुद क्षेत्रलाई बढी भन्दा बढी जोड दिएको उनको भनाइ छ । मन्त्री गुप्ताले नेपालका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर सम्पूर्ण नेपालीको मन जित्न सफल भएको बताए । उनले खेलाडीलाई आवश्यक सुविधा उपलब्ध गराउन सके खेलाडीको मनोबल अझ बढ्ने बताए ।
दरखसवा युवा क्लबले बधाई, शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक मनोज प्रजापति (महाकाल)ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij