
सोमवार , कार्तिक १३, २०८०
भैरहवा, १३ कार्तिक ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले दबाबका कार्यक्रम गर्ने भएको छ । सञ्जालले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी दबाबमूलक कार्यक्रम गर्ने जनाएको हो ।
विमानस्थल नियमित सञ्चालन गर्न पटकपटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले सरकारसँग अन्तिम लडाइको रूपमा आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘विमानस्थल सञ्चालनका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिन आन्दोलनको विकल्प यहाँको आम सर्वसाधारण तथा उद्योगी व्यवसायीले देखेका छैनन् । ’
आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीलाई एकमहिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, कात्तिक १५ गतेदेखि सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने, आन्तरिक हवाई टिकट विक्री नगर्नका लागि हवाई एयरलायन्सहरुमा पत्राचार गर्ने र विरोधस्वरुप शान्ति र्याली निकालिने संजालका अध्यक्ष ज्ञवालीले बताए ।
त्यस्तै आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रर्दशन गर्ने, यति गर्दा पनि माग सुनुवाई नभए आम सर्वसाधारणसहित निरन्तर धर्ना तथा विरोध प्रदर्शन गर्ने संजालले जनाएको छ ।
‘रिले अनसनसम्मका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुनेछौं । मंसिर २५ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक हवाई उडान र बेलहिया नाका पूर्ण रुपमा बन्द गर्नको लागी आव्हान गर्दै धर्ना कार्यक्रम गर्ने सो को लागि सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरुलाई ऐक्वद्धतासहित सहकार्यका लागी हार्दिक आव्हान गर्दछौं, ’ज्ञवालीले भने ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न दबाबका लागि संघर्ष गर्दै अघि बढ्ने बताए ।
सिद्धार्थ सञ्जाल रुपन्देहीमा रहेका विभिन्न संघ–संस्थाको नेतृत्व गर्ने संस्था भएको महासचिव संजय बजिमयले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij