२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सम्मरीमाईमा भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि मापदण्ड तयार, कित्ताकाट खुल्ने

सोमवार , कार्तिक १३, २०८०

भैरहवा, १३ कार्तिक ।
सरकारले जारी गरेको भूमि सम्बन्धि नियमानुसार रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण (कित्ताकाट) सम्बन्धि मापदण्ड तयार गरेको छ । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले  मालपोत कार्यालय र नापी कार्यालय मझगावालाइ हस्तान्तरण गरेको छ ।

कागजातहरु मर्चवारको मझगावास्थित मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।

योसँगै रुपन्देहीको मर्चवार क्षेत्र अन्तर्गत सम्मरीमाइ गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोली कार्तिक १४ गते मंगलबारदेखि खोलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाले जनाएको छ । 

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राके कुमार चौधरीले जानकारी दिए । चौधरीले भने, ‘गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।’

गाउँपालिका अध्यक्ष श्रीवास्तवले गाउँपालिकामा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यवसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औंद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी, खोला ताल सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

396590468_770139618210426_4579192054962802737_n.jpg