२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

कुष्ठरोग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

आइतवार , माघ १८, २०७७

भैरहवा, १८ माघ । 
६८ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले अशक्त अपांगता (क वर्ग) भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

वार्षिक कार्यक्रम अनुसार गत मंसिर १८ गते बसेको बैठकले अपांगता परिचयपत्र समन्वय समितिबाट निर्णय भएबमोजिम अशक्त अपांगता, क वर्गमा छनौट भएका १४ जना व्यक्तिहरुलाई न्यानो कपडा (कम्मल) वितरण गरिएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बताइन् । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

कम्मल वितरण गर्न सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, महिला तथा बालबालिका शाखा प्रमुख कौशिल्या चौधरी लगायतको टोली अपांगता भएका व्यक्तिहरुको घरमै पुगेर आइतबार न्यानो कपडा वितरण गरेको थियो ।IMG_1347.JPG

सो अवसरमा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का गणपति घिमिरेले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको लागि सक्दो सेवा सुविधा प्रदान गरेको भन्दै खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि नगरपालिकाबाट सहयोगको अपेक्षा राखेको बताए ।