२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कञ्चनलाई छिट्टै सुकुम्बासीमुक्त पालिका घोषणा गरिनेछ : उपाध्यक्ष खड्का

मंगलवार , कार्तिक १४, २०८०

रुपन्देही, १४ कार्तिक ।
रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासीमुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले कञ्चन गाउँपालिकालाई छिटै नै सुकुम्बासी मुक्त घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘कञ्चनलाई सुकुम्बासी मुक्त बनाइनेछ ।’ राष्ट्रिय भूमि आयोगका प्रवक्ता समेत रहेका खडकाले कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरु कञ्चनका सुकुम्बासी परिवारलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न अत्यन्त सक्रियतासाथ लागेको आफूले पाएको बताए । उनले पहिलो चरणमा ५ हजार लालपूर्जा वितरण गर्ने काम छिटै हुने विश्वास दिलाए । 

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने काममा ७५३ पालिकामध्ये सबैभन्दा अगाडी रहेको दावी गरे । उनले सबैको सहयोग र समन्वयले लालपूर्जा वितरणको अन्तिम चरणमा पुगेको जानकारी दिए । 

कार्यक्रममा नेकपा एमाले कञ्चन गाउँपालिकाका अध्यक्ष दिनानाथ शर्माले कञ्चनका सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपूर्जा पाउने कुरा महत्वपूर्ण रहेकोले आफूहरुले पालिकालाई सहयोग नै गरेको बताए । उनले पालिकाभित्र कति सुकुम्बासी छन र कति अव्यवस्थित बसोबासी छन, उनीहरुले पूर्जा पाउने अवस्थामा पालिका र आयोगले छिटो काम गर्नुपर्ने उल्लेख गरे । 

अन्तरक्रिया कार्यक्रममा कञ्चनका सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । त्यसअवसरमा बोल्ने वक्ताहरुले पूर्जाको राजस्व बढी भएकोले त्यसमा पुनरावलोकन गर्न माग गरेका थिए ।