२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

बेलहिया नाकामा अव्यवस्थित पार्किङ गर्ने ६ वटा भारतीय गाडीलाई जरिवाना

बिहिवार , कार्तिक १६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १६ कार्तिक ।
    नेपाल–भारत सीमा नाका बेलहियामा अव्यवस्थित पार्किङ गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधन (ट्याक्सी) जरिवाना कारवाही थालिएको छ । भारतीय नम्बर प्लेटका गाडीहरु यात्रु बोक्नका लागि नेपालमा आएर जथाभावी पार्किङ गर्ने गरेका थिए ।
    नाकामा अव्यवस्थित रुपमा जथाभावी पार्किङ नगर्न गरेको आग्रह अटेर गरेपछि जरिवाना कारवाही थालिएको सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    नाकामा जथाभावी भारतीय नम्बर प्लेटको गाडी पार्किङले ट्राफिक व्यवस्थापनमा समस्या, दुर्घटनाको सम्भावना र पर्यटकलाई सास्ती खेप्नु परेकोले गाडीहरु हटाउन सुरु गरिएको उनको भनाई छ ।

    सिद्धार्थनगर नगरपालिकाको कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा अव्यवस्थित रुपमा राखिएका गाडीहरुलाई हटाउन सुरु गरेको हो । ‘नाकामा दिनभर पार्क गरेर समस्या सिर्जना गरेको भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रथम चरणमा हटाउन आग्रह गरेका थियौं’ वडाअध्यक्ष पोखरेलले भने, ‘आग्रहलाई अटेर गरेपछि जरिवाना कारवाही सुरु गरेका छौं ।’ उनले अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका ६ वटा गाडीलाई जरिवाना कारवाही गरिएको बताए ।

    अव्यवस्थित पार्किङ गरी राखिएका भारतीय नम्बर प्लेटका गाडीहरुलाई कारवाही थालेपछि पार्किङ क्षेत्रमा पर्यटकहरुको लागि सवारीसाधन पार्किङ गर्नका लागि प्रयाप्त ठाउँ भएको छ । पहिलोपटकका लागि एक हजार रुपैयाँ जरिवाना कारवाही गरिएको र अटेर थप कडा कारवाही गरिने नगरपालिकाको १ नम्बर वडा कार्यालयले जनाएको छ ।