
आइतवार , माघ १८, २०७७
भैरहवा, १८ माघ ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी.ले लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले दुईतिहाई बहुमत नजिकै पुगेको प्रतिनिधिसभा विघटन हुनु दुनियाको निम्ति चिन्ताको विषय बनेको बताए ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीको सञ्चार डाइरेक्टरी विमोचन एवं मैत्रीपूर्ण वनभोज कार्यक्रमलाई बाउन्नकोटी सामुदायिक वन सियारी–२ चिल्हिया, रुपन्देहीमा शनिबार सम्बोधन गर्दै मन्त्री के.सी.ले देश र जनतालाई संकट नपर्ने गरी सारथी बन्न पत्रकारलाई आग्रह गरे । ‘कलमलाई तिखो बनाएर जनता जागृत बनाउनुस्, अहिलेको आवश्यकता हो, उनले भने । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकासको लागि अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले लुम्बिनी प्रेस क्लबले रचनात्मक कार्यलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले अहिलेको परिस्थितिमा मिडियाबाट टाढा रहेर अगाडी बढ्न नसकिने बताए ।
प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जी.सी.ले मुलुकको अप्ठेरो परिस्थितिमा पनि सञ्चार क्षेत्रले योगदान पुर्याउँदै आएको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सञ्चार डाइरेक्टरीमा क्लबमा आबद्ध पत्रकारहरुको नाम, ठेगाना, आबद्ध मिडिया, शैक्षिक योग्यता, सम्पर्क नम्बर र इमेल ठेगाना समावेश गरिएको डाइरेक्टरी संयोजक तथा लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य विष्णु भट्टराईले जानकारी दिए । विगतका वर्षहरुझैं यस वर्ष पनि क्लबले वनभोज कार्यक्रमलाई अगाडी बढाएको वनभोज कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य पुनहरि बेल्बासेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij