
शुक्रवार , कार्तिक १७, २०८०
भैरहवा, १७ कार्तिक ।
हर्षोल्लासका साथ मनाइने हिन्दूहरुको महत्वपूर्ण चाड छठपर्वको तयारी रुपन्देहीको भैरहवामा पनि सुरु गरिएको छ । विगतका वर्षझै यस वर्ष पनि छठ पर्वलाई सभ्य र भव्य रुपमा मनाउन तयारी सुरु गरिएको श्री कालीभक्ति गण (ई) श्री छठ पुजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । उनले बिहीबार भैरहवामा बैठक बसी विभिन्न समितिहरु गठन गरिएको बताए ।
संयोजक गुप्ताले सिद्धार्थनगर नगरपालिका–५ सेवापथस्थित श्री कालीभक्ति गण (ई) भित्र रहेको पवित्र धार्मिक छठ पोखरीमा रंगरोगन, सरसफाईलगायतका व्यवस्थापकीय काम सुरु गरिने जानकारी दिए । ‘छठ पोखरीको सुन्दरीकरणको लागि सिद्धार्थनगर नगरपालिका र ५ नम्बर वडा कार्यालयले पनि रकम छुट्टाएको छ, श्री काली भक्ति गणका प्रमुख सेनानी शुभाकर खड्कासहित गणबाट पनि उल्लेखनीय सहयोग प्राप्त भएको छ, ’गुप्ताले भने ।
छठ पर्वको विशेष महत्व रहेकोले छठ पोखरीमा आइ पूजाआजामा सहभागी हुन भक्तजन तथा सर्वसाधारणलाई उनले आग्रह गरे । छठपर्वमा आइ छठ माताको पूजा गर्नाले र प्रसाद खानाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए ।
यस वर्ष छठ पर्वमा झाँकी पनि निकालिने उनले जानकारी दिए । छठ पर्वको मुख्य दिन अर्थात मंसिर ३ गते अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट मंसिर ४ गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने उनले बताए ।
सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले छठ पर्वलाई भव्य रुपमा मनाउन तयारी थालिएको बताए । उनले भने, ‘धर्म संस्कृतिको संरक्षण गर्ने हामी सबैको दायित्व हो ।’
सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले छठ पर्वलाई सभ्य भव्य रुपमा सम्पन्न गर्न सक्दो सहयोग गर्ने बताए ।
कान्दू वैश्य सेवा समिति रुपन्देहीका निवर्तमान अध्यक्ष तथा रुपन्देही नागरिक समाजका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ता, जयसवाल महिला सेवा समिति सिद्धार्थनगरकी अध्यक्ष पुनम जैसवाल, समाजसेवी जोगेन्द्र प्रसाद अग्रहरी, शिव बाबा, दुर्गा प्रकाश गुप्ता लगायतले छठ पर्व व्यवस्थित ढंगले मनाउन आवश्यक साथ र सहयोग गर्ने बताए ।
भैरहवामा श्री काली भक्ति गण, सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया, सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर लगायत स्थानमा छठ पूजा हुँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij