
शनिवार , कार्तिक १८, २०८०
भैरहवा, १८ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले दुवै देशको सम्बन्ध रोटीबेटीमा मात्र सीमित नरहेको बताए ।
नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाको ७ औं अधिवेशन कार्यक्रमलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मन्त्री पाण्डेयले नेपाल र भारतबीच ‘कनेक्टिभिटी’ बढाउन आवश्यक रहेको र प्रदेश सरकारले संघ सरकारसँग पहल गरिरहेको बताए । उनले नेपाल र भारतको संस्कृति, पराम्परा, खानपिन मात्र मिल्ने नभइ देवी देवता समेत एउटै रहेको बताउँदै उनले यो सम्बन्ध कुनै राजनैतिक असरका कारण नमेटिने बताए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले जनप्रतिनिधिले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि दुवै देशबीच समन्वय र सहकार्य हुँदै आएको छ र आगामी दिनमा पनि हुनेछ ।’ निश्चित रुपमा लुम्बिनी प्रदेश पर्यटनको प्रदेशको रुपमा विश्वमै चिनाउन सफल हुने उनको भनाइ छ ।
शुक्रबार भैरहवामा सम्पन्न नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाको सातौं अधिवेशनले पशुपति कान्दुको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले उपशाखाको उपाध्यक्षमा गंगाराम पराजुली, सचिवमा जीवलाल भट्टराई, सह–सचिवमा सुनिल कुमार यादव, कोषाध्यक्षमा राजेश जयसवाल र सह–कोषाध्यक्षमा सुवास प्रधान निर्वाचित भएको निर्वाचन अधिकृत दुर्गा नारायण डुम्रेले जानकारी दिए ।
उपशाखाको सदस्यहरुमा दिलिप कुमार हरिजन, राजु सुनार, रमेश कान्दु, त्रिवेणी यादव र महिमा बस्नेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दुर्गा नारायण डुम्रेका अनुसार भारततर्फबाट उपशाखाको वरिष्ठ उपाध्यक्षमा राजु गुप्ता, उपाध्यक्ष पशुपति कुमार वर्मा र सह–सचिव मनोज त्रिपाठी चयन भएका छन् । भारतबाट नै उपाशाखाको सदस्यहरुमा अमित मोदनलाल, विनय त्रिपाठी, दुर्गेश गिरी, आमिर खाँन, प्यारेलाल यादव, धर्मेन्द्र अग्रहरी र अम्वुस कुमार गुप्ता चयन भएका छन् ।
नेपाल भारत मैत्री संघ रुपन्देहीका शाखाका अध्यक्ष श्रीचन्द्र प्रसाद गुप्ताको अध्यक्षता, गृहमन्त्री पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री संघका लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष वासुदेव रिमाल, पूर्व केन्द्रिय अध्यक्ष मुरारीलाल अग्रवाल, कन्द्रिय सदस्य एवं मणिग्राम उपशाखा अध्यक्ष मोहनराज शर्मा, पर्यटन व्यवसायी तथा सिद्धार्थ सञ्जाल रुपन्देहीका महासचिव संजय बजिमय, संघका धकधई उपशाखा अध्यक्ष बेचन प्रसाद गुप्ता लगायतले बोलेका थिए । नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाका उपाध्यक्ष गंगाराम पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij